धरान/नाटकमा पुनरागमन गरेको आरम्भ नाट्य डबलीले २९ औं स्थापना दिवश मङ्गलबार धरानमा मनाएको छ । [caption id="attachment_68300" align="alignnone" width="797"] प्रश्ना–भक्त रङ्ग पत्रकारिता पुरस्कारबाट पुरस्कृत ब्लाष्टकर्मी भोजराज श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गर्दै प्रतिनिधि सभाका सदस्य सांसद जयकुमार राईलगायत अतिथिहरु । तस्बिरः ब्लाष्ट[/caption] किरात याक्खा छुम्माको कार्यालयमा केक काटेर आरम्भले २९ औं स्थापना दिवश मनाएको हो । आरम्भ २०४५ सालमा पुषमा स्थापना भएको थियो । बीचमा करिव ढेड दशक सुस्ताएको आरम्भले एकवर्ष अघि पुनरागमन गर्दै नाटकमा फेरि नयाँ गोरेटो खन्न शुरु गरेको छ । आरम्भले गतवर्षको पुष २५ गते कै दिन धरान–५ स्थित काठेपुलमाथि रङ्ग भवनको शिलान्यास गरेको थियो । उक्त दिनलाई नै आधार मानेर स्थापना दिवश मनाएको अध्यक्ष गोपाल देवानले बताए । स्थापना दिवशमा प्रतिनिधि सदस्य सांसद जयकुमार राई, भाषाविद् प्रा.डा. टङ्क न्यौपाने, अध्यक्ष देवानलगायत अतिथिहरुले केक काटेर आरम्भको जन्मोत्सव मनाएको हो । त्यसक्रममा प्रतिनिधि सदस्य सांसद राईले आरम्भ पुनरागमनलाई धन्यवाद दिँदै नाट्य, कला क्षेत्रमा अव बन्ने सरकारले नीति निर्माण गर्ने बताए । समय परिस्थिति अनुसार नाटक लेखन फरक फरक बनाउन आग्रह गर्दै उनले भने, ‘अव आर्थिक समृद्धि कसरी गर्न सकिन्छ त्यो विषयमा नाटक लेखिनुपर्छ ।’ उनले कर्मचारीतन्त्र, राजनीति भ्रष्टचारविरुद्ध नाटक मञ्चन गरिनु पर्ने बताए । उनले नाटकको विकासको लागि विज्ञसँगको सहकार्यमा यो क्षेत्रलाई अघि बढाउने बताए । भाषाविद् प्रा.डा. न्यौपानेले पनि काव्यमा नाटक सबैभन्दा उत्तम भएको बताउँदै सामाजिक रुपान्तरणको शक्ति नाटकमा हुने बताए । उनले आरम्भको पुनरागमनसँगै पुस्तान्तरणको अभियान जसरी थालनी भएको छ त्यसले आगामी दिनमा पनि नाटकलाई जीवन्त राख्ने बताए । राष्ट्रलाई प्राण भर्न कार्य कलाकारहरुले गर्ने बताए । ‘सरकार, राजनीतिक दलहरुले देशको सीमा, भौगोलिकतालाई हेर्लान, तर, राष्ट्रको प्राण भर्ने काम कलाकारेले गर्छन् । नयाँ सिर्जना गर्ने कलाकारहरु हुन् ।’ उनले भने ।
ब्लाष्टकर्मी पुरस्कृत प्रश्ना–भक्त रङ्ग पत्रकारिता पुरस्कारबाट ब्लाष्टकर्मी भोजराज श्रेष्ठ पुरस्कृत भएका छन् । पत्रकार श्रेष्ठलाई नगद ११ हजार १ सय ११ रुपैया नगदसहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत गरिएको छ । रङ्ग तथा कला क्षेत्रमा कलम चलाएको भन्दै श्रेष्ठलाई पुरस्कृत गरिएको अध्यक्ष देवानले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद जयकुमार राई, भाषाविद् प्रा.डा न्यौपाने तथा आरम्भ अध्यक्ष देवानले सम्मानपत्रसहित नगदले सम्मानित गरेका थिए । आरम्भका महासचिव सचिन क्षेत्रीले आफ्नो आमा प्राश्ना खड्का, भक्तबहादुर खड्काको नाममा पुरस्कार स्थापना गरेका हुन् । गतवर्षदेखि ‘प्राश्ना भक्त रङ्ग पत्रकारिता पुरस्कार’ प्रदान गरिन थालिएको हो । गतवर्ष नागरिक दैनिकका रोहित राईलाई प्रदान गरिएको थियो ।
अध्यक्ष देवानले नाटकलाई स्थानीय सरकारले पनि अघि बढाएमा धरानको नाटक सप्तकोशी जस्तो बगिरहने बताए । ‘स्थानीय निकायले पनि सहयोग गरेमा नाटक सप्तकोशी जस्तो भएर जान्छ । धरानको रंगमञ्चले सगरमाथाको आरोहण गर्छ ।’ उनले भने । यसक्रममा नाटकमा काम गरिरहेका कलाकार तथा स्रष्टाहरुलाई सम्मानित गरिएको छ । कार्यक्रममा कलाकार दिपेन्द्रसिंह दर्नाल, नगेन्द्र राई, तुलसा थापा, कैलास कार्कीलगायतलाई सम्मानित गरियो । आरम्भले कार्यक्रमको दोस्रो सेसनमा ‘पाँनचिते मामा’ नामक नाटकसमेत मञ्चन गरेको छ । यो नाटक गत तिहारमा भएको देउसी भैलोमा करिव २५ वटा स्थानमा मञ्चन गरिएको थियो । जसमा राजनीतिक दलहरु तथा राष्ट्र बनाउनेहरुले गर्ने गल्तीका कारण जनताहरु अभावको सिकारमा पर्ने गरेको सन्देश प्रवाह गरिएको छ । राजनीतिज्ञका कारण देश अशिक्षा, वेरोजगारी, लुटतन्त्र, भ्रष्टचार मौलाएको सन्देश प्रवाह गरिएको थियो । जसमा पाँनचिते मामाको भूमिकामा दिलीप रेनोहाङ राई, अग्रज कलाकार प्रविण राई, कृष्ण तिम्सिना, कमानसिंह राईलगायतको अभियन देख्न सकिन्छ ।