सुपरस्टार सलमान खानसँग मिलेर निर्देशक अली अब्बास जफरले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्तो सुपरहिट फिल्म दिइसकेका छन् । अब यो जोडी फेरि एकपटक सँगै काम गर्दैछन् । सलमानको नयाँ फिल्म ‘भारत’को घोषणा भइसकेको छ । जसलाई जफरले नै निर्देशन गर्दैछन् ।

‘भारत’ वर्ष २०१४ मा आएको दक्षिण कोरियाको फिल्म ‘ओडे टु माई फादर’को हिन्दी रिमेक हो ।  ‘ओडे टु माई फादर’लाई निर्देशक योन जे-क्यूनले निर्देशन गरेका थिए । यसको कहानी कोरियाको युद्धको समयमा एक किशोरले दिएको वचनको वरिपरि घुम्छ ।

जफरका अनुसार, यो फिल्मलाई निर्देशन गर्ने प्रस्ताव सलमानको तर्फबाट आएको हो । उनले भने, “वास्तविक फिल्मको जस्तै रिमेक त बनाउन सकिन्न । सामाजिक-राजनीतिक परिदृश्यले तपाईको कहानी र भूमिकालाई प्रभावित गर्छ । तर, मलाई फिल्मको मूल कुरा मन पर्‍यो ।”

फिल्मको रिमेकको अधिकार अतुल अग्निहोत्रीले किनेका छन् । जफरले अगाडि भने “हामी मार्चबाट काम सुरु गर्नेछौं । म एक महिना अब सुत्न चाहन्छु । हामी अहिले यो फिल्मको सुरुवाती चरणमा छौं ।”