मोरङ/ पहिलो पटक आयोजना गरिएको विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगितामा मोरङ विराटनगरकी मेनुका चापागाईं प्रथम भएकी छन् ।
अमेरिकामा दर्ता भएको नेपाली साहित्यकारहरूको संस्था ‘छन्द–अलङ्कार’द्वारा आयोजित विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता— २०१७ मा चापागाईंको ‘यही स्वर्ग मेरो’ शीर्षक कविता प्रतियोगितामा प्रथम भएको हो ।
जापानमा रहेकी कवि सविना रेग्मी द्वितीय र तनहुँका कवि गोविन्दगोपाल खतिवडाले तृतीय स्थान हाँसिल गर्न सफल भए । मोरङ पथरीशनिश्चरेका कवि रोहित पराई र उदयपुरका कवि भवानी खतिवडाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथमले ३ सय ११, द्धितीयले २ सय ५५, तृतीयले १ सय ११ र सान्त्वनाले ५१–५१ रुपैयाँ अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मूल्याङ्कनका लागि डा. देवी नेपालको संयोजकत्वमा अमेरिकामा रहेका दुर्गा रिजाल र बेलायतमा रहेका नारायण गाउँले रहेको निर्णायक समिति बनाइएको थियो । यसका साथै अमेरिकामा रहेका भोलानाथ शिवाकोटी पुरानाघरे र काठमाडौंका ज्ञानु विद्रोही सम्मिलित कार्यकारी निर्णायक समिति निर्माण गरिएको थियो ।
छन्दको ज्ञान सहित छन्द कविता युटुवमा राखेर नेपाली साहित्यको विश्वव्यापीकरणका लागि नियमित कार्यक्रम गर्दै आएको ‘छन्द–अलङ्कार’ले प्रतियोगितामा विश्वभरिबाट १ सय २ वटा छन्दकविता सहभागि थिए । जसमध्ये उत्कृष्ठ ७५ कविताबाट छनौट गरिएको छन्द–अलङ्कारका कार्यकारी निर्देशक पुरानाघरले जनाए ।