बिर्तामोड । जता तेतै धुलो । फोहोरको डङगुर । सार्वजनिक स्थल र सडकमा फोहोर नफाल्न अनुरोध गर्नुपनि छैन, फोहोर फाल्नेलाई जरिवाना पनि छैन । त्यसरी फोहोर नफाल्नु भन्ने चेतना स्थानीयमा नभएको पनि होइन । तर, शिक्षित भनेर चिनिने झापा त्यो पनि बिर्तामोडले पुर्वमै सबैभन्दा फोहोरको शहरको परिचय पाउने अवस्था आएको छ ।

बिर्तामोडमा फोहोर फ्याक्न कुनै समय पर्खिनु पर्देन । न कसैले केही भन्ने डर न जरिवानाको चिन्ता । घरमा जम्मा भएको फोहोर पोको पारेर बोकेर सडकमा आयो, फुत्त मिल्कायो । बिर्तामोडका स्थानीयको नियमित जस्तै काम हो यो । खुलम खुल्ला सडकमा फोहोर फ्याक्न यहाँ कसैलाई अवरोध छैन । नेपालका अन्य शहरले फोहोरलाई मोहरमा परिणत गरेर आम्दानी गर्न थालिसकेका छन् । तर, बिर्तामोडका सरोकारवाला भने फोहोर फाल्ने स्थान खोज्नै अलमलिइरहेका छन् । अब्यवस्थित बिर्तामोडमा पुर्वकै सबैभन्दा धेरै फोहोर जम्मा हुने आकलन गरिएको छ । यसको कारण भने सबैभन्दा ठुलो कृषि उपज बजार हो । यहाँ बिषादीयुक्त भारतीय तरकारी खरिद बिक्रि गर्ने मुख्य थलो भएका कारण यहाँ फोहोरको परिमाण धेरै भएको हो । तर, हालसम्म कति परिमाणमा फोहोर बिर्तामोडमा जम्मा हुन्छ भन्ने तथ्यांक कतै भेटिएको छैन । असार अगाडि स्थानीय तहमा कर्मचारी मात्र थिए । उनीहर्रु जनप्रतिनिधि नभएकाले केही गर्न नसकिएको’ भनेर फोहोर ब्यवस्थापनबाट पन्छिने गरेका थिए । जसका कारण शहरभरि फोहोरको डङगुर हुन्थ्यो । अहिले जनप्रतिनिधि पनि आएका छन् । तर, फोहोर ब्यवस्थापनका लागि कसैले सोच्न भ्याएको छैन । सडकका किनाराभरि फोहोर थुपारेका कारण सर्बसाधारण नाक थुनेर आवत जावत गर्न बाध्य छन् । जनप्रतिनिधि आएपछि फोहोर ब्यवस्थापनका लागि दुइवटा समिति निर्माण भइसकेका छन् । पहिले वडा नम्बर २ का अध्यक्ष नगेन्द्र संग्रौलाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइयो । त्यो समितिले बिर्तामोड १० मा लगभग १५ कठ्ठा जमिन भाडामा लियो । अस्थायी रुपमा त्यहाँ फोहोर थुपार्ने काम त्यो समितिले गरेको थियो । त्यसपछि नगर कार्यपालिकाको बैठक बसेर वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद संग्रौला संयोजक रहेको नगरस्तरीय बिपद ब्यवस्थापन समितिलाई त्यो जिम्मेवारी दिइयो । अहिले बिर्तामोड १० को त्यो स्थानमा फोहोर भरिसकेको छ । अब उत्पन्न भएको फोहोर कहाँ फाल्ने भनेर सकस छ ।

बिर्तामोडमा फोहोर संकलनको लागि एउटा आफ्नै र एउटा भाडाको ट्याक्टरको ब्यवस्था छ । ति ट्याक्टरले दिनहँु शहरमा स्थानीयले थुपारेको फोहोर संकलन गर्छन् । त्यसपछि चारआलीको जंगलमा रहेको सडक किनारामा मिल्काएर आउँछन् । तर, बिर्तामोड नगरपालिकाले भने कृषि सामग्री कम्पनिको खाली जमिनमा ‘डम्प गर्दै आएको’ बताएको छ । काँकडभिट्टाबाट बिर्तामोड आँउदा चारआली जंगलको सडकमा फोहोरको गन्धले हिडिनसक्नुको अवस्था छ । जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जंगल परिसरमा फोहोर फाल्नु गैरकानुनी भएको बताए । पर्यावरण सन्तुलनका हिसावले पनि जंगलमा फोहोर फ्याक्न नहुने धारणा उनले राखे । उनले झापाका ६० वटै सामुदायिक बन उपभोक्ता समुहलाई बन क्षेत्रमा फोहोर फ्याक्नेलाई नियन्त्रणमा लिन पत्र लेख्ने बताए । अस्पतालमा प्रयोग गरेका सिरिन्ज, प्याड, स्लाइनका बोतल, रगत लतपतिएका कटन समेत झापाका बिभिन्न बन क्षेत्रमा फालिन्छन् । त्यसका कारण वाताबरण प्रदुषण हुनुका साथै बन्य जन्तुलाई समेत यसले असर पुग्ने वाताबरणविदको भनाइ छ । यसको नियन्त्रणका लागि ब्यवस्थित तरिकाले फोहोर ब्यवस्थापनमा लाग्नुपर्ने भनाइ सुवेदीको छ । पुर्वको सबैभन्दा जनघनत्व भएको तथा ब्यापारिक केन्द्रका रुपमा परिचित यस शहरमा दैनिक कति परिमाणमा फोहोर जम्मा हुन्छ भन्ने तथ्यांक स्थानीय तहमा पनि छैन । पछिल्लो पटक फोहोर बयवस्थापनको जिम्मा पाएको बिपद ब्यवस्थापन समितिका संयोजक कुलप्रसाद संग्रौलाले यसबारेमा अध्ययन गर्न नभ्याइएको सुनाए । फोहोर ब्यवस्थापन समितिका पुर्व संयोजक नगेन्द्र संग्रौलाले पनि बिर्तामोडमा उत्पन्न हुने फोहोरको परिमाण थाह नभएको बताए । हालसम्म फोहोर सम्बन्धि कुनै तथ्यांक नभएको नगरपालिकाले फोहोर संकलन, प्रशोधन तथा त्यसबाट फाइदा लिन सक्ने सम्भावनाबारे बेखबर रहेको छ । बिर्तामोडसँगै नगरपालिका घोषणा भएका अन्य नगरले तीनबर्षे योजना बनाएर चौथो बर्षपछि फोहोरबाट लाभ लिने घोषणा गरेका छन् । अन्य नगरले त्यसको लागि बजेट बिनियोजन गरेर दातृ निकायको सहयोगमा काम समेत शुरु गरिसकेका छन् । तर, यहाँका सरोकारवालाले भने हालसम्म यसबारेमा सोच्न पनि भ्याएका छैनन । फोहोरकै कारण प्राणघातक रोगको संक्रमण बढ्ने भएका कारण यसलाई ब्यवस्थित तरिकाले ब्यवस्थापनमा लागे लाभ समेत लिन सकिन्छ । फोहोरलाई जैविक र अजैविकका रुपमा बिभाजन गर्नुपर्ने हुन्छ । जैविक फोहोरबाट बिद्युत, ग्याँस, मल उत्पादन गर्न सकिन्छ भने अजैविक फोहोरबाट पुन प्रयोग गर्ने सामग्री निर्माण गर्न सकिन्छ । फोहोर समस्याको दिर्घकालिन समाधानबाट लाभ लिनुपर्नेमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।