धरान/कवि शिरोमणी लेखनाथ पौडयालको १३४ औं जन्मजयन्तीमा प्रदेश १ स्तरीय खुल्ला कविता प्रतियोगिता गरेको छ । [caption id="attachment_67180" align="alignnone" width="720"] तस्बिरः शेखरनाथ जाेगी[/caption] प्रतियोगितामा ४८ वटा कवितालाई उछिन्दै तरहराका किरण सिवा प्रथम बनेका छन् । प्रथम बनेका उनले नगद १० हजार रुपैयासहित प्रमाण पत्र जिते । त्यस्तै सुन्दरहरैचा मोरङका सुदीप विष्ट दोस्रो, धरानका विजय तामाङ तेस्रो र मोरङका प्रदीप योङहाङ सान्तवना पुरस्कार जिते । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको लागि ४९ वटा कविताहरु प्राप्त भएकोमा १५ वटा अन्तिम छनौट गरिएको आयोजक धरान–१६ स्थित कवि शिरोमणी साहित्य साधना समाजले जनाएको छ । यसैबीच साहित्यकार पण्डित तथा कवि लोकनाथ लुइटेल, योगेश्वर भट्टराई र लम्जेल संर्घषशीललाई पुरस्कृत गरिएको छ । लुइटेल र भट्टराईलाई जनही १० हजारले पुरस्कृत गरिएको छ भने संर्घषशीललाई नगद ७ हजार रुपैयाले पुरस्कृत गरिएको छ । समाजका अध्यक्ष सिद्धिकर्ण शर्माद्वारा लिखित योगमाया चरित महाकाव्यको लोकापर्णसमेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपानेले महाकाव्यको विमोचन गरेका छन् । उक्त महाकाव्यको डा. महानन्द तिम्सिनाले परिचर्चा गरेको सचिव भवानीशंकर भट्टराईले बताए । उनका अनुसार कवि शिरोमणी पौडयालको जन्मघरसम्बन्धी वृतचित्रसमेत प्रदर्शनी गरिएको छ । धरान–१६ लेखनाथ चोकमा रहेको कवि शिरोमणी लेखनाथ पौडयालको अर्धकदको मूर्तीमा समाजले माल्यपर्ण गर्दै कार्यक्रमको शुरुवात गरेको थियो । जसमा सांसद जयकुमार राई, प्रदेश सांसद प्रदीप भण्डारी, धारन नगरका उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि माल्यापर्ण गरेका थिए ।