केहीदिन यता विवाहको मौसम चलिरहेको छ । बलिउडदेखि क्रिकेटरसम्म अनि टिभी स्टार्स एकपछि अर्को गर्दै विवाह बन्धनमा बाँधिएको खबर बाहिर आइरहेको छ । अहिले अनुष्का-विराटको विवाह चर्चामा छ । अब यस्तो लागिरहेको छ चाँडै अर्को विवाहको खबर पनि बाहिर आउन सक्छ ।

हालैमा एक अवार्ड शोमा पुगेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाहको लागि आफू अहिले केटा खोजिरहेको बताएकी छिन् ।  विवाहको विषयमा सोधिएको प्रश्नमा प्रियंकाले भनिन्, ‘विवाह योजना गरेर हुँदैन । तपाईलाई आफ्नो लागि एउटा सहि व्यक्तिको खोजी आवश्यक हुन्छ । यदी मलाई सहि व्यक्ति मिल्यो भने म तुरुन्त विवाह गर्नेछु । अहिले म यस्तै एक व्यक्तिको खोजीमा छु ।’

यस्तै, उनले आफ्नो नयाँ बलिउड प्रोजेक्टको विषयमा पनि मुख खोलिन् । प्रियंकाले चाँडै राकेश शर्माको बायोपिकमा काम गर्न लागेको पुष्टि गरेकी छिन् । यसमा बलिउड स्टार आमिर खान मुख्य भूमिकामा देखिँदैछन् । यो फिल्मलाई सिद्धार्थ राय कपूर र महेश मथाईले निर्देशन गर्दैछन् ।