ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए । किन आउँदैछन् त सलमान नेपाल ? हालैमा सलमानले ‘दबंग द टुर’ नाम दिइएको कन्सर्ट सुरु गरेका छन् । उनले दिल्ली, अष्ट्रेलिया, न्यूूजील्यान्ड र हङकङमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यही टुर अन्तगर्त सलमान नेपाल आउन लागेका हुन् । केहीदिन अगाडि दिल्लीमा भएको ‘दबंग द टुर’मा ओडीसीका निर्देशक सीमान्त गुरुङसँग सलमानले भेट गरेका थिए  । आयोजक संस्थाका अनुसार, नेपाल एक सुरक्षित पर्यटन क्षेत्र रहेको सन्देशसहित ‘दबंग द टुर नेपाल’को आयोजना गर्न लागिएको हो । सलमानको यो टुरलाई नेपाल पर्यटन बोर्डले पनि सहयोग गरेको छ । नेपालमा गएको विनाशकारी भूकम्प र नाकाबन्दीले देशमा भएको आर्थिक संकटलाई मध्येनजर गर्दै मनोरञ्जनको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि सलमानलाई नेपाल ल्याउन लागिएको स्रोत बताउँछ । कति दिने हुनेछ सलमानको नेपाल बसाई ? फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, सलमान मुश्किलले दुईदिन मात्र नेपालमा रहनेछन् । केही मिडियामा आएको खबरअनुसार, उनी फागुन २५, २६ र २७ गते नेपालमा रहनेछन् । फागुन २६ गते शनिवार टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ आयोजना हुन लागेको हो । स्रोतका अनुसार, सलमान फागुन २६ गते दिउँसो मात्र नेपाल ओर्लिनेछन् भने साँझ ७ देखि ८ बजेभित्रमा उनले हजारौं नेपाली प्रशंसकमाझ टुँडिखेलमा आफ्नो प्रस्तुती दिनेछन् । स्टेज चढ्नुअघि सलमानसहित अन्य कलाकारले रिहर्सल पनि गर्नेछन् । फागुन २७ गते विहान पशुपति मन्दिर र हेलिकोप्टर चार्टर गरेर संसारकै अग्लो शिखर सगरमाथाको उनलाई भ्रमण गराउने तयारीमा आयोजक संस्था छ । सलमानले पनि पशुपति मन्दिर र सगरमाथाको भ्रमण गर्ने इच्छा देखाएका छन् । एजेन्सी