वीरगञ्ज । वीरगञ्जको रजत जयन्ती चौकमा रहेको होटेल शिखरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २ महिला सहित ६ जनालाई पक्राउ गरेको छ। बाइपास सडकखण्डमा पर्ने होटेल शिखरमा बिहीबार छापा मारी तेस्रो तल्लामा जुवा खेलिरहेका ब्यक्तिहरुबाट नगद ४६ हजार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी डा.गणेश रेग्मीले बताए। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका ४ अमरपटीका मनोज चौरसिया, वीरगञ्ज महानगरपालिका ५ कुम्हाल टोलका लखिराम चमार, बैतडी दशरथचन्द नगरपालिका ८ का गगनसिह थापा, कञ्चनपुर देवकोट नगरपालिका ५ का रमेश भट, सलार्ही भवानीपुर नगरपालिका ७ कि अनिता कार्की, सुनसरी प्रकाशपुर गाउँपालिकाकी अमृता बस्नेतलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए। रेग्मीको कमाण्डमा खटिएको टोलीले होटेलमा छापामारी जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो। तिहारको मौका छोपी वीरगञ्ज तथा पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा अवैध रुपमा जुवा तास खेलाउने गतिविधि बढ्दै गएको जन गुनासो बढ्न थालेपछि प्रहरीले जुवाडेहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।