काठमाडौँ/बडादसैंको सातौं दिन आज सप्तमी। सप्तमीका दिन प्रत्येक दसैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ।

यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ। सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ। काठमाडौँको हनुमानढोकास्थित दसैंघरमा पञ्चांग निर्णायक समितिले निकालिदिएको साइतमा अपराह्नतिर फूलपाती भित्र्याइन्छ।

त्यसो भए के हो त फूलपातीरु अनि के महत्त्व छ त यसकोरु नव अर्थात् नौ, पत्रिका अर्थात् पत्र। फूलपातीमा नौ प्रकारका वनस्पति (का पत्र) हुने भएकाले संस्कृतमा यसलाई नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई नवपत्रिका भनिन्छ । दसैंघरमा यी नौ वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ। यी सबै वनस्पति नपाइने ठाउँमा अन्य बोटबिरुवा संलग्न गरी नौवटा पुर्‍याइन्छ। केराको बोटमा रम्भाधिष्ठात्रीको रूपमा ब्राह्मी, दारिममा रक्तदन्तिका, धानको बोटमा लक्ष्मी, हरिद्रामा दुर्गा, मानकको बोटमा चामुण्डा र कचुको बोटमा कालिकाको पूजा गरिन्छ। यस्तै, बेलको बोटमा शिवा, अशोकको बोटमा शोकहारिणी र जयन्तीमा कार्तिकीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको छ।

नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरू खाद्य पदार्थको साथै औषधि उपचारमा समेत उपयोगी मानिन्छन्। प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको प्रयोग गरिन्छ। औषधीय गुणले युक्त र जीवनका विभिन्न समयमा आवश्यक परिरहने भएकाले यी वनस्पतिहरू फूलपातीमा नवदुर्गालाई चढाउने परम्परा चलेका हो। बडादसैंअन्तर्गतको यो दिनले फूलपाती दसैंघरमा भित्र्याउने र पूजा गर्ने मात्र नभई यिनको महत्त्व बुझेर संरक्षण संवर्धन गर्न प्रेरणा दिन्छ।

साथै तिनबाट वातावरणीय र औषधीय रूपमा फाइदा लिई स्वाथ्य रक्षा गर्नसमेत प्रेरित गर्छ भन्ने मान्यता रहिआएको छ।