ताप्लेजुङ/साहित्यकार झमक घिमिरेद्धारा लिखित उपन्यास जीवन काँडा कि फुल लाई समेटि निर्माण गरीएको चलचित्रको च्यारीटि सो ताप्लेजुङमा पनि हुने भएको छ । निर्माण टिमले एकल महिला सञ्जाल ताप्लेजुङ सँगको सहकार्यमा दशैको समयमा च्यारिटि सो गर्ने तयारी गरेको हो ।
बच्चादेखि बुढा सम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटि निर्माण गरीएको चलचित्रले केहि प्रेरणा दिने भएकाले ताप्लेजुङमा पनि च्यारीटि सो राख्न लागेको आयोजक सञ्जालकी उमा गुरुङले बताए ।
चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् । सो पुस्तकले मदन पुरस्कार समेत पाइसकेको छ । उनकै जीवन कथामा आधारित चलचित्र जीवन काँडा कि फुलको पहिलो प्रिमियर शो गत असार २६ गते काठमाडौं स्थित रातो बंगला स्कूलमा भइसकेको छ ।
अन्य सात स्थानमा समेत च्यारीटि सो सम्पन्न भएको निर्माण पक्षले बताएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाङ्कन गरिएको चलचित्रको निर्माता आसामका विनोद विष्ट रहेका छन् ।
बद्री चौहान र उमेश सुवेदी निर्देशक रहेको चित्रचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था प्रधान रहेकी छिन् । अन्य कलाकारहरुमा रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, शारिका घिमिरे, कृष्ण सुनार उमा बेबीलगात रहेका छन् । चलचित्र बिस्ट ब्रोदर फिल्मस् को ब्यानरमा निर्माण गरीएको हो ।
सन् १९८० मा धनकुटा मा जन्मेकी झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन । मष्तिस्क रोग द्वारा पीडित घिमिरे विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन ।
जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन । खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन ।
औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको, लेखेको, देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन् । उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो । झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथो लगायत दर्जनौँ पुरस्कार एवं सम्मान पनि प्राप्त गरेकी छन् ।