पाँचथर/पाँचथरबाट निर्माण गरिएको पछिल्लो चलचित्र ‘सायाबुङ’ को ट्रेलर र एउटा गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको छ । चलचित्र निर्माण युनिटले फिदिममा पत्रकार सम्मेलन गरी टे«लर र भिडियो सार्वजनिक गरेको हो ।
चलचित्रमा समावेश गरिएको ‘मैंले कहाँ सोच्न सक्छु र ...’ बोलको गीतको भिडियो ट्रेलर सँगै सार्वजनिक गरिएको हो । भक्त सुनुवारको संगीतमा दीपक लिम्बू र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चलचित्रका मूख्य कलाकारहरु मदन दुमी, निशा राई, सौजन सुब्बा र साया राईलाई देख्न सकिन्छ ।
इष्टकाष्ट क्रिएशन प्रा.लि.को ब्यानरमा सम्झना साया राईको कथा, निर्माण रहेको ‘सायाबुङ’ लाई भगिराज राईले निर्देशन गरेका छन् । देवजंग थापाको छायाङ्कन/सम्पादन रहेको ‘सायाबुङ’ किरात राई जातिको सभ्यता र सँस्कृति देखाइएको छ । ‘सायाबुङ’ लाई साहित्यकार सगुन सुसाराले भाषा सम्पादन गरेका छन् । चललचित्रको पहिलो च्यारेटि शो यहीं असोज एक गते फिदिममा गरिने निर्देशक राईले बताए ।
जारी नेपाल आइडलको टप–७ मा पर्न सफल गायिका प्रमिला राई लगायत स्थानीय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम सहित गरिने फिल्मको पहिलो च्यारेटिबाट संकलित रकम जिल्लाको फालेलुङ गाउँपालिकाका पहीरो पीडितलाई राहत स्वरुप प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।