शनिश्चरे / मोरङको पथरीशनिश्चरे ९ रिंगुवाको धिमाल टोलमा रहेको ग्रामथानको जग्गामा राजनीतिक किचलो ( ग्रामथान) को जग्गाको विषयमा यसबेला पुनः किचलो बल्झिएको छ ।

विक्रम सम्वत १९९४ सालमा छविलाल धिमाल र उनका छोरा हर्कबहादुर धिमालले आफ्नै जग्गामा महाराजथान स्थापना गरी आफ्नै घरपरिवारले पूजाआजा गरेको र पछि थानका लागि करिव ७ कठ्ठा जग्गा निशुल्क दिएका थिए । यस अघि विभिन्न पक्ष तथा संघ संस्था बसेर यकिन गरेर छुट्याइएको जग्गा अतिक्रमण भएको भन्दै यसबेला राजनीतिक रुपमा मुद्धा बनाएर आफुहरुमाथि तनाव सिर्जना गरिएको जग्गादाता धिमाल परिवारको प्रतिक्रिया छ । उत्तरदक्षिणको बाटोभन्दा पूर्व रहेको ग्रामथानको जग्गा अतिक्रमण गरेको भन्दै बाटो पश्चिम र दक्षिणमा हुने भूवन धिमाल, हाल वडा सदस्य समेत रहेका खरिन्द्र धिमाल, छिमेकी चन्द्रकान्त भट्टराई, दिनेशकुमार धिमाल र वेदबहादुर धिमाल विरुद्ध सञ्चारमाध्यममा समाचार आएपछि मंगलबार पत्रकार सम्मेलनमार्फत पाँचै जनाले आपत्ति जनाए । सो ग्राम महाराज थान सेवा समितिका अध्यक्ष समेत रहेका खरिन्द्रले भने ‘समितिका पूर्व पदाधिकारी, सदस्यले हाँस्यास्पद निराधार यो आरोप लगाएका हुन् । जो उनीहरु समितिको नियम विपरित गएर आफैं समितिबाट निस्किएका थिए । उनीहरुलाई राजनीतिक संरक्षणमा उचाल्ने काम अरुबाट भयो ।’ एमाले पक्षका यी धिमाल परिवारलाई कांग्रेस पक्षका अरुले यसखाले आरोप लगाएको स्थानीयले बताएका छन् । साविक वयरवन ९ ख, कित्ता नम्बर १३८ को अन्दाजी १३ कठ्ठा जग्गामध्ये करिव ७ कठ्ठा प्रदान भएको देखिन्छ । ०६५ सालमा तात्कालिन शनिश्चरे गाविस वडा नम्बर २ मा पर्ने थान सेवा समितिलाई जिल्ला प्रशासन कार्यालयमा दर्ताका लागि निवेदन दिइएको थियो । जिल्ला प्रशासनले संस्था दर्ताका लागि यथार्थ बुझ्न गाविसलाई भनेको थियो । जस अनुरुप सरजमिन गरी ०६५ जेठ २७ गते गाविसले गरेको सिफारिसमा पूर्वमा केर्खा खोला, पश्चिममा ठाडो बाटो, दक्षिणमा चन्द्रकान्त भट्टराई र सिनमाया धिमाल, उत्तरमा अमृत धिमालले भोगचलन गरेको जग्गाभित्रको चारकिल्ला तोकेर सरजमिन गरी छुट्याइएको देखिन्छ । यसका आधारमा थानलाई छुट्याइएको जग्गामा हाल कसैको पनि वसोवास र जग्गा भोगचलन परेको देखिदैन । ०३६ सालदेखि जोतभोग र घर बसोवास भएका भूवन र बेदबहादुरको घर पूर्व ०४८ सालमा उत्तरदक्षिणको नयाँ बाटो स्थानीयको सहमतिमा निर्माण भएको छ । भूवनको घरै पश्चिममा जोर्डिको छोटो बाटो अर्काे लामो बाटोसँग नजोडिएकाले त्यसभन्दा पूर्वपट्टि स्थानीय मिलेर बाटो निर्माण गर्न पुगेका थिए । तर हाल जग्गा अतिक्रमण भयो भन्ने पक्षले भनें सोही पुरानो बाटोको कुरा झिकेर त्यसभन्दा पूर्वको जग्गा थानको हो भन्दै ०३६ सालदेखि बसोवास भएका घरहरुलाई समेत मुछ्ने काम भएको छ । ‘हामी ०३६ सालदेखि यही घरमा बसेको र यही जग्गा जोगभोग गरेको हो । थान दर्ता गरेर ०६५ सालमै थानलाई मेरो घर पूर्वको बाटो पूर्वको जग्गा भनेर यकिन गरेर छुट्याइसकेको अवस्थामा हाम्रो घर पनि थानको जग्गामा पर्छ भन्नु हामीलाई विस्थापित गर्ने षडयन्त्र मात्र हो ।’– वेदबहादुर धिमालले भने । थानको जग्गा यकिन गरेर छुट्याउने सन्दर्भमा ०६५ जेठ २९ गते धिमाल जाति विकास केन्द्रले छलफल गरी सोही चारकिल्लाको अन्दाजी ७ कठ्ठा जग्गा थानको भएको निर्णय गरेको रहेछ । ऐलानी रहेको १३ कठ्ठामध्ये ४ कठ्ठा चाँही जोतभोग गर्नेहरुलाई नै भोग गर्न दिने भन्ने ०६२ जेठ २७ को गाविस कार्यालयको निर्णय समेतको आधारमा सो निर्णय भएको लिखत देखिन्छ । अन्तिम समयमा नगरपालिका कार्यालयमा समेत सो कुरा पुगेपछि कार्यालयले स्थलगत अनुगमन गर्दा थानको जग्गा अतिक्रमण गरेर घर बनाएको नदेखिएको नगर उपप्रमुख यमुना विष्टले बताएकी छन् । थानको जग्गाभन्दा बाहिर आफ्नो पुरानो घर रहेको ठाउँमा आफुले घर बनाउँदा ग्रामथानको जग्गा अतिक्रमण भएको भन्दै सञ्चारमाध्यममा प्रचारवाजी भएकोमा हर्कबहादुरका नाती भूवन धिमालले विरोध जनाए । ‘मदन भण्डारी स्मृति प्रतिष्ठानका कर्मचारी भूवनले अतिक्रमण गरेर घर बनाए भन्ने समाचार मेरो कुरा नै नराखी प्रायोजित रुपमा विभिन्न सञ्चारमाध्यममा आएपछि आफुलाई निकै तनाव भएको छ । यो राजनीतिक प्रतिशोध बाहेक केही होइन ।’– भूवनले दुखेसो पोखे ‘थानलाई संरक्षण गर्दै जग्गा समेत दिनेलाई अनाधार आरोप लगाएर कसैले केही जित्दैन ।’ बाबुबाजेले आफैले पूजा गर्ने थान स्थापना गरेको र पछि छोरानातीसम्म आइपुग्दा त्यसलाई फराकिलो बनाउनु पर्ने कुरा उठेपछि धिमाल परिवारले अन्दाजी ७ कठ्ठा सोही क्षेत्रको ऐलानी जग्गा प्रदान गरेको त्यहाँका छिमेकी ढुण्डीराज भट्टराईले जनाए । ‘हामी पुराना छरछिमेकीले भन्नु पर्दा थानलाई छुट्याएको जग्गा अतिक्रमण भएको देखिदैन । गाविस, धिमाल जाति विकास केन्द्रले पनि हामी सवै वसेर थानको जग्गा छुट्याएको थियो ।’– उनले भने । सो ग्रामथान समितिका पूर्व सचिव सन्तोष धिमालले भनें ७ कठ्ठा जग्गा नपुग्ने भन्दै जग्गा अतिक्रमण नै भएको जिकिर गर्दै आएका छन् ।