इटहरी/ जीवन जिउनु यथार्थ हो । कल्पना गरिएका कुराहरु सबै पुरा नहुन पनि सक्छन् । कल्पना गर्नु र वास्तविक जीवन जिउनु फरक विषय हुन् । हो, त्यही कुनै व्यक्तीको यथार्थतालाई साहित्यमा सृङ्गार भरिदा धेरैको जीवनलाई समेट्ने गर्दछ ।यीनै विषयलाई समेटेर तयार गरेको साहित्यक कृतिले समाजको चित्रण गरेको हुन्छ ।

[caption id="attachment_51182" align="alignleft" width="477"] तस्विर बाबुराम सुबेदी[/caption]

त्यो कृति इतिहास बन्न सक्छ । किन भने कृतिमा त्यो बेलाको परिवेश, सामाजिक चाल चलनदेखि जीवन यापनलाई चित्रण गरिएको हून्छ ।यस्तै कृति तयार गर्न सफल इटहरीका पत्रकार एवम् साहित्कार कृष्णविनोद लम्सालको कृति विभाजित समयको बारेमा शनिबार इटहरीमा चर्चा भयो । कृतिका बारेमा बोल्ने वक्ताहरुले कृतिमा यथार्थता पाएको बताए । विभाजित समय उपन्यास भित्र पस्दै विश्लेषकहरुले त्यहाँको केही ठेट भाषाका बारेमा प्रश्न त गरे ।

त्यो भन्दा पनि कृतिले सामाजिक यथार्थलाई चित्रण गरेको भन्दै कृतिको महिमा थपे । भनिन्छ, साहित्य जीवनको नदिको तीब्र वेग पनि हो । जसको सुसाईमा आँशु, हाँसो, रोदन र पिडाका जिवन्त कथाहरु सुस्केराइ रहेका हुन्छन् । यथार्थमा जीवन र जगत्को अनुभूति साहित्य हो भने यिनै अनुभूति र भोगाई प्रस्तुत गरिएको विभाजित समय समाजका दिन चर्या, माया पिरती, संस्कार र संस्कृतिको ज्वलन्त उदाहरण हो । साझा प्रकाशनले प्रकाशन गरेको सो कृतिले साहित्य जगतमा छुट्टै स्थान पाउने भन्दै विश्लेषकहरुले लम्सालको प्रस्तुतिमा नौलो वान्की पाएको बताए ।

बिभाजित समय उपन्यासमा लेखक लम्सालले उपन्यासमा लेखक स्वयमले जीवनकालमा विभिन्न परिवेशसँगै जीवन भोगाईका विषयहरुलाई समेटेका छन् । जनजागरण पुस्तकालय इटहरी–५ को रचना वाचन तथा अन्तरक्रिया मासिक कार्यक्रममा शनिबार साहित्यकार लम्सालको विभाजित समय पुस्तकको बारेमा चर्चा गरियो । आधा दशक अघिनै प्रकाशन भएको सो पूस्तकको महिमा नघटने देखेर शोधकर्ता विद्यार्थीहरु मदनराज बराल, दयाराम दवाडी र डिल्लीबहादुर राउतले त्रिभूवन विश्व विद्यालयबाट स्नातकोत्तर तहमा सोध गरी कृतिको धेरै पाटोमा खोतलेका छन् ।

तीनै सोध कर्ता विद्यार्थीहरुले पनि आफूले पाएको अनुभवलाई कार्यक्रममा पस्किए ।जनजागरण पुस्तकालयले चाँजो मिलाएको सो कार्यक्रममा लम्सालको जीवनीका बारेमा पनि चर्चा गरियो । भोजपुर जिल्लाको केउरेनीपानीमा जन्मिएर धरान बाँझगरा हुँदै इटहरी आएर स्थायी बसोवास गर्दै लम्साल उपन्यास मात्रै लेख्दैनन् ।

उनी पत्रकारिता गर्छन् अनि कविता पनि लेख्छन् । कार्यक्रममा साहित्यकार उपेन्द्र पागलले लेखक लम्सालद्धारा लिखित उपन्यास विभाजित समय पछिल्लो कालखण्डमा निकै मार्मिक ढङ्गले पाठक सामु ल्याउने प्रयास भएको बताए । जुन सफलतासँगै प्रगतिबादी साहित्यको भूमिकामा पनि राख्ने सक्ने उनको भनाई थियो । कर्णवहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखक लस्साल सहित साहित्यकार साहित्यनुरागीको सहभागिता रहेको थियो ।