लण्डन/ साहित्यकार कृष्ण बजगाईको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक गरिएको छ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले नियात्रासंग्रह लोकापर्ण गरे ।

पुस्तक लोकापर्ण गर्दै शर्माले अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गर्दै लाने बताए ।

यसैबीच नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुइसय शिर्षकका तीनहजार थान पुस्तक प्रदर्शनीमा राखिएको थियो ।

उक्त पुस्तकहरु महाप्रबन्धक शर्मा प्रदर्शनीका लागि नेपालबाट लगेका हुन् । साहित्यको विभिन्न क्षेत्रमा हात हालेका साहित्यकार बजगाईंको सातौं कृति ‘युरेसियाको स्पर्श’ साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्रवटा यात्रानुभूति पुस्तकमा समेटिएका छन् ।