इंग्लिस क्लब लेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले १० खेलाडीमा सीमित स्पेनिस क्लब सेभिल्लालाई २–० ले हराएर समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो ।

इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर पहिलो लेगमा सेभिल्लासँग २–१ ले पराजित भएको थियो । पहिलो लेगमा हारेसँगै क्लबले गएको वर्ष असम्भव प्रायः मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको थियो । रानिएरीलाई बर्खास्त गरेपछिका सबै खेलमा लेस्टरले राम्रो प्रदर्शन गरेको छ ।

स्टरको जितमा कप्तान वेस मोर्गान र मार्क अलब्राइटनले गोल गरे । २७ औं मिनेटमा मोर्गानले गोल गर्दै पहिलो हाफमा लेस्टरलाई १–० को अग्रता दिलाए । ५४ औं मिनेटमा अलब्राइटनले अग्रता दोब्बर पारे । योसँगै क्रेग शेक्सपियरको प्रशिक्षणमा रहेको लेस्टरले पहिलो लेगमा पराजित भएर पनि पुनरागमन गर्दै पहिलो सहभागिता मै क्वाटरफाइनलमा पुगर क्लबका लागि अर्को इतिहास बनाएको हो । ७४ औं मिनेटमा समिर नास्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र शुक्रबार हुनेछ । अहिलेसम्म युभेन्टससहित लेस्टर सिटी, बार्सिलोना, रियल मड्रिड, बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डले अन्तिम ८ मा स्थान बनाइ सकेका छन् । बुधबार राति हुने एथ्लेटिको मड्रिड र बार्यन लेभरकुशन तथा म्यानचेस्टर सिटी र मोनाकोबिचको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टिमको टुंगो लाग्ने छ ।