कहिले मेरी बास्सै–मिडिया हब त कहिले नेपाल टेलिभिजन–मिडिया हबको आर्थिक लेनदेन विवादका कारण पटक–पटक प्रसारण रोकिँदै आएको हास्य टेलिश्रृंखला मेरी बास्सै मंगलबारदेखि ताजा भाग लिएर आउने भएको छ।
भुइँचालोपछि नियमित प्रसारण रोकिएको मेरी बास्सै पछि नेपाल टेलिभिजन र प्रसारक संस्था मिडिया हबबीचको आर्थिक लेनदेनका कारण रोकिएको थियो।
मेरी बास्सैका निर्देशक सिताराम कट्टेल ‘धुर्मुस’का अनुसार नयाँ सम्झौतापछि मेरी बास्सै ताजा श्रृंखलाका लागि आइतबार सुटिङमा गएको छ। यसअघिका दुई हप्ता धुर्मुस–सुन्तलीको निर्माण/निर्देशन रहेको लघुफिल्म ‘लोटेचर्पी’ मेरी बास्सैको समयमा प्रसारण गरिएको थियो।
धुर्मुस हाल एकिकृत बस्ती निर्माणका लागि महोत्तरीको मुसहर समुदायमा छन्। त्यसैले उनी सुटिङमा उपस्थित भएका छैनन्। कुन्जना घिमिरले निर्देशन सम्हालेकी छन्। मेरी बास्सैमा ‘बांगे बा’ को नामबाट चिनिएका दीपक आचार्यले कथादेखि निर्देशनसम्म उनलाई सघाइरहेका छन्।
धुर्मुसको भनाइमा मेरी बास्सै अब नियमित प्रसारण हुनेछ। ‘धेरैलाई मेरी बास्सै सधैंका लागि बन्द भएको भन्ने लागेको रहेछ,’ उनले भने, ‘हाम्रो आन्तरिक समस्याका कारण रोकिएको थियो। अहिले मौखिक रुपमा नियमित प्रसारण गर्ने सम्झौता भएको छ। म काठमाडौं फर्किएपछि अन्तिम चरणको सम्झौता हुन्छ।’
उनका अनुसार मेरी बास्सैले मिडिया हबबाट पारिश्रमिकवापत थुप्रै रकम लिन बाँकी छ। हाल मिडिया हब उक्त रकम तिर्ने अवस्थामा पुगेपछि मेरी बास्सै टेलिभिजनमा फर्किएको धुर्मुसले बताए।
मेरी बास्सैले आउँदो मंगलबार निर्वाचनको कथा देखाउन लागेको धुर्मुसले जानकारी दिए।
‘हामीलाई थाहा छ, दर्शकले हामीबाट पहिलेभन्दा बढ्तै अपेक्षा गर्छन्,’ उनले भने, ‘बस्तीको काममा व्यस्त भएकाले त्यति गम्भीर भएर सोच्न पाइएको छैन। तर बस्ती निर्माणको कामबाट फुर्सद मिलिसकेपछि देश विकासको सन्देश लिएर आउनेछौं। विषयवस्तुलाई पहिलेभन्दा परिष्कृत रुपमा टेलिभिजनमा देखाउने हाम्रो प्रयास रहनेछ।’
मेरी बास्सै मंगलबारदेखि ताजा भाग लिएर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































