काँकडभिट्टा / पठन सँस्कृतिको विकास गर्ने उद्देश्यले ‘गतिशीलताका लागि निरन्तर अध्ययन’ भन्ने उद्घोषसहित स्थापित रिडर्स झापाको आयोजनामा कला साहित्य उत्सवको तेस्रो संस्करण जारी रहेको छ । तीन दिवसीय उत्सवको दोस्रो दिन शुक्रबार कला, साहित्य र राजनीति विषयका छुट्टाछुट्टै समूहगत छलफल भएका छन् । मोफसलकै ठूलो साहित्यिक उत्सवका रुपमा लिइएको काँकडभिट्टामा जारी उत्सवको दोस्रो दिन ‘नेपाली सिनेमाको बदलिँदो सूत्र’ विषयक छलफलमा नवीन सुब्बा, अनुभव अजित र तुलसी घिमिरेले भाग लिएका थिए भने सहजीकरण सङ्गीत स्रोताले गरेका थिए । ‘समृद्धिको सपना’ शीर्षकमा सीके लाल र डम्बर खतिवडाले बहस गरे भने सहजकर्तामा थिए सागर शिवाकोटी । ‘आलोचनात्मक चेतना र बहस’ विषयमा सञ्जीव उप्रेती, सावित्री गौतम र अशेष घिमिरेले आप्mना धारणा राखे भने मध्यस्थकर्ता थिए भाष्कर गौतम । ‘कविताको राजनीति’ विषयको छलफलमा राजा पुनियानी, विनोदविक्रम केसी र सरिता तिवारी सहभागी भए भने मनु मञ्जिलले सहजीकरण गरेका थिए । ‘सञ्चारमाध्यम र उपाख्यान’ विषयमा किशोर नेपाल, नारायण वाग्ले, राजेन्द्र महर्जन सहभागी थिए भने राजु अधिकारीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरे । ‘गीतमा जनताका सुखदुख’ मा विप्लव प्रतीक, खेम नेपाली र सङ्गीत स्रोताबीच छलफल भयो भने सहजीकरण सौरभ मैनालीले गरेका थिए । ‘गजल महफिल’ विषयमा सुरेश सुवेदी, कृष्ण उदासी, कल्पना आचार्य, प्रभा आचार्य लगायतले भाग लिएका थिए । ‘मायाको शासन’ मा उमा सुवेदी, सावित्री गौतम र आहूतीले बहस गरे भने प्रणिका कोयूले सहजीकरण गरेका थिए ।