धरान/गत वैसाखमा बाह्र लाख रुपैया भेटेर आफन्तलाई जिम्मा लगाएका उदाहरणीय दुई चेलीलाई साहित्यिक संस्थाले शुक्रबार धरानको महेन्द्र क्याम्पसमा सम्मानित गरेको छ । योनान साहित्यिक अभियान नेपालले ‘सम्मान तथा रचना वाचन’ कार्यक्रम गर्दै सुनिता राई र ज्योती राईलाई सम्मापन पत्रले सम्मानित गरेको हो । उनीहरुलाई प्रा.डा नोवेलकिशोर राई, प्रा.डा. टङ्कप्रसाद न्यौपाने र अभियानका अध्यक्ष सीताराम सूचारुले संयुक्त रुपमा सम्मान पत्र, दोसल्ला ओढाएर सम्मानित गरेका छन् । सम्मानित द्वयले गत २०७३ बैसाख १६ गते धरानको विश्वकर्मा मन्दिर भन्दा केही तलतिर दुर्घटनाका क्रममा ओमबहादुर गेलालको साथबाट झरेको करिव १२ लाख रुपैया रकम उनको परिवारलाई फिर्ता गर्दै उदाहरणीय कार्य गरेका थिए । दुई मध्ये ज्योति हाल महेन्द्र क्याम्पसमै विए प्रथम वर्षमा अध्ययरत छिन् भने सुनिता उर्लाबारी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययरत छिन् । कार्यक्रममा सुस्मिता राई, स्पन्दीका राई, वविता राई, नवराज मैनाली, सुस्मा लिम्बू, हेमसागर तिम्सिनालगायतले कविता, गजल तथा मुक्तक वाचन गरेका थिए । कार्यक्रममा प्रा.डा. न्यौपानेले समाजमा अझै आदर्श नसकिएको उदारहरण दुई बहिनीले प्रस्तुत गरेको बताए । प्रा.डा. राईले पनि समाज भ्रष्टता तर्फ उन्मुख भए पनि सत्ययुग झै अहिले पनि आर्दश पात्रहरु समाजमा रहेको बताए । कार्यक्रममा अतिथिहरुलाई रञ्जिता यादवले स्वागत गरेकी थिइन् ।