काठमाडौँ/ पत्रकार तथा लेखक कृष्णप्रसाद सिग्द्यालको परराष्ट्र नीतिसम्बन्धी पुस्तक ‘नेपाल छिमेक र विश्व’ सार्वजनिक भएको छ ।
पत्रकार सिग्द्यालको पुस्तकले सर्वसाधारण जनतालाई नेपालको परराष्ट्र सम्बन्ध र नीतिका बारेमा सहजरुपमा जानकारी दिने उद्देश्य राखेको देखिन्छ । मूलतः पुस्तकमा ब्रहण्डको उत्पत्तिदेखि भारत, चीन र अन्य निकट सम्बन्ध भएका मुलुकसँगको नेपालको सम्बन्ध तथा विश्वका समसामयिक समस्याका बारेमा प्रकाश पारिएको उनले बताए ।
भारत र चीनको अर्थ व्यवस्थाको ज्ञान नभई ती देशको परराष्ट्र नीतिका बारेमा समेत बुझ्न नसकिने पुस्तकले सन्देश दिएको छ । लेखकले पुस्तकमा आफ्नो विचार मात्र नभएर परराष्ट्र विषयसम्बन्धमा पत्रपत्रिकामा प्रकाशित समाचार र लेखलाई समेत समेट्नु भएको छ । साथै नेपाल र बाहिरका विज्ञ तथा जानकारका उक्त पनि उल्लेख गरिएको छ ।
पत्रकार सिग्द्यालका यसअघि ‘बर्दिया एक चिनारी’, ‘साना कुरा’, ‘पत्रकारको कानुनी दैनिकी’लगायतका पुस्तक कृति सार्वजनिक भइसकेका छन् । यसबाहेक उहाँका सयौँं लेख प्रकाशित भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) मा करिब १३ वर्ष पत्रकारिता गरेका सिग्द्याल खासगरी अदालत, परराष्ट्र र अर्थ विषयका जानकार मानिन्छन्। उनले नेपाल वातावरण पत्रकार समूह (नेफेज) का संस्थापक अध्यक्ष हुन् ।