काभ्रे/ बालुवापाटी गाविस– ९ का ३८ वर्षीय उद्धव ढकाल करिव दुई दशक अघिदेखि दूध सङ्कलन गरी बिक्री वितरण गर्दै आएका छन् । अन्य पेसाका दाजोमा दूधको व्यापार निकै नै राम्रो भएकाले सन्तुष्ट हुनाका साथै आफूलाई रोजगार पनि मिलेको उनले बताए ।

“दूध सङ्कलन केन्द्र सञ्चालन गरेको निकै वर्ष बितिसक्दा मैले दूधका विषयमा धेरै जानकारी पाएको छु ”। ढकालले भने । दैनिक झन्डै ३०० लिटर दूध सङ्कलन गर्दै आइरहेको उनले आफ्नो प्रमुख पेसा नै दूध सङ्कलन भएको र यसबाटै रामै्र अर्थोपार्जन समेत भएको उनले बताए । बालुवापाटी गाविसका– १, २ र ९ नं वडाको दूध सङ्कलन गर्दै आउनुभएका ढकालले यो पेसाबाट मासिक रु ५० हजारसम्म आम्दानी हुने गरेको राससलाई बताए ।

बालुवापाटी गाविसकै अर्का व्यापारी बद्री ढकालले पनि भारतमा दुःख पाएर फर्किसकेपछि मात्र नेपालमा नै केही गर्न सकिन्छ भन्ने ठानेर दूध सङ्कलन केन्द्र स्थापना गरेका हुन् । दूध व्यापार सुरु गरिसकेपछि नेपालमा नै राम्रोसँग मिहेनत गरे प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धारणा आफूमा भएको उनले बताए । ‘नेपालमा आएको केही समयपछि नै दूध व्यवसाय सञ्चालन गरेको हुँ र यहाँ कम मेहनतमा मनग्य आम्दानी गर्न सकेको छु ।’ उनले भने ।

बालुवापाटी गाविसका सिमानामा पर्ने नयाँगाउँ गाविस र गैरबिसौना गाविसका सिमाना र बालुवापाटी गाविस गरी दैनिक रुपमा यहाँ ६ हजार ५०० लिटर दूध दैनिक रुपमा सङ्कलन हुने गरेको छ । जसमध्ये नगरकोटमा भएका विभिन्न होटल र दुईवटा निजी क्षेत्रबाट सञ्चालित दूध चिस्यान केन्द्रमा एक हजार ५०० लिटर दूध खपत हुने गर्दछ भने बाँकी पाँच हजार लिटर दूध भक्तपुर हुँदै काठमाडाैंसम्म पुग्ने गर्दछ ।

यो वर्ष मात्रै काभ्रे जिल्लालाई दूधमा आत्मनिर्भर जिल्लाका रुपमा घोषणा समेत गरिसकिएको छ । यस जिल्लाका प्रायः सम्पूर्ण मानिस पशुपालन गरी दूध बिक्री गर्दै आइरहेका छन् । पर्याप्त चरन क्षेत्र पशुका लागि आवश्यक कच्चा पदार्थ सहजै उपलब्ध हुने भएकाले प्राय जिल्लाका सबै घर परिवार दूध व्यवसायमा आत्मनिर्भर भएका हुन् । बालुवापाटी गाविसमा मात्रै ४० व्यापारीले दूध व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । काभ्रे जिल्लालाई दूधमा जस्तै मासुलगायत अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउने योजना रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएकोे छ ।

-रासस