रामपुर (पाल्पा)/ सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवलखण्डको सडक जीर्ण बन्दै गएको छ । झन्डै ३९ किमी जीर्ण सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षात्का समयमा सडकमाथिको पहाडबाट आउने पहिरोले ढुङ्गा र माटो बगाउँदै सडकमा थुपारेका कारण पनि सडकको अवस्था बिग्रँदै गएको हो । वर्षौंदेखि सडककोे मर्मत संहार र स्तरोन्नति नभएका कारण कतिपय ठाउँमा धुलाम्मे हुँदा बाटै देखिदैन । पाल्पा, गुल्मी, स्याङ्गजा, पोखरा, बागलुङसम्म दैनिक सयौँ सवारी साधन गुड्ने यस राजमार्गको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यान नपुगेको श्रीनगर यातायात व्यवसायी समितिका अध्यक्ष डिलबहादुर ढुङ्गाना बताए । सडक अस्तव्यस्त भएको धेरै समय हुँदा पनि सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो उपभोक्ता मञ्चका अध्यक्ष माधव नेपालको पनि छ । विसं २०२८ मा निर्माण भएको यस राजमार्गमा पहिरो र सवारी दुर्घटनाका कारण बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । यस आवको ६ महिनामै १३ जनाको ज्यान गइसकेको छ भने २० यात्रु गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जनाए । सडक निर्माण गर्दा भौगोलिक अवस्था ख्याल नगरेका कारण पनि सडकको अवस्था बिग्रँदै गएको समयमै सुधार नभए अन्य थुप्रै व्यक्तिले ज्यान गुमाउनुपर्ने अवस्था आउने विज्ञहरुको भनाइ छ । निर्दिमघाटको पुल निर्माण कार्य बीचमै अलपत्र कालीगण्डकी नदीमा निर्माणाधीन निर्दिमघाटको पक्की पुल बीचमै अलपत्र अवस्थामा छ । रामपुर नगरपालिका–११ र चापाकोट नगरपालिका–५ जोड्ने निर्दिमघाटमा निर्माणाधीन पक्की पुल एक वर्षयता अलपत्र अवस्थामा रहेको हो । विसं २०६८-६९ मा कन्काई नेपाल प्रगति मिलिनियम जेभी कम्पनीले सम्झौता गरेर काम सुरु गरेको थियो । निर्माणाधीन पुलको बीचको भागको पिल्लर पुनः डिजाइन गर्नुपर्ने भएपछि निर्माण कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको हो । कम्पनीका ठेकेदार यमबहादुर श्रेष्ठले नदी थुनेर खाल्डो खन्दा साना साना ढुङ्गा आएपछि निर्माण कार्य रोकिएको बताए । “चट्टानसहितको ढुङ्गा आउनुपथ्र्यो, साना साना ढुङ्गाका कण आएपछि काम गर्न सकिएन, अब यही महिनाभित्रमा सडक विभागबाट डिजाइन परिवर्तनको नक्सा आएपछि लगत्तै काम सुरु गर्छौं” – ठेकेदार श्रेष्ठले भने । भ्याटसहित रु १५ करोडको लगानीमा तीन वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी काम थालनी गरिएको हो । एक सय ५० मिटर लम्बाइ र ९०० मिटर चौडाइ रहेको पुलको पाँच वर्षमा अहिलेसम्म झन्डै पाँच करोडको लागतमा ३० प्रतिशत जति काम भएको कम्पनीले जनाए । पुल समयमा नै सम्पन्न नहुँदा आवतजावतमा कालीनदी वारिपारिका स्थानीयवासीले ठूलो सास्ती भोग्दै आएका छन् । यहाँ पुल निर्माण भएपछि रामपुर नगरपालिका, हेक्लाङ गाविस र चापाकोट नगरपालिका गरी झन्डै २० हजारभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित हुने चापाकोटका भगवान् तिमिल्सिनाले बताए । निर्माणाधीन पक्की पुल पुरा नहुँदा यस क्षेत्रका बासिन्दाले केलादीघाट र राम्दीघाटबाट लामो दूरीमा वारिपारि यात्रा गर्दै आएका छन् ।

-रासस