धरान / अस्वीकृत विचार–साहित्य गुठी, काठमाडाैले ०७/७४ सालको अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार सुरेन्द्र लिम्बू परदेशी(भारत)लाई दिने भएको छ । यस्तै अस्वीकृत विचार–साहित्य सम्मान वरिष्ठ साहित्यकारद्वय श्री कृष्णप्रकाश श्रेष्ठ (मास्को, रुस) र प्रा.डा. कविता लामा (सिक्किम, भारत) लाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त पुरस्कार फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा वितरण गरिने आयोजकले जनाएको छ । पुरस्कार रासी अस्वीकृत विचार साहित्य पुरस्कार १२ हजार रहेको छ ।
साहित्यकार सुरेन्द्र लिम्बू परदेशी सङखुवासभा मादी न.पा. १३ मा जन्मिए भारतको लखनउमा बस्दै आएका छन् । उनका अधुरो जीवन (उपन्यास) र परदेशीको चुनौति (कथा संग्रह) साथै १४० जति फुटकर रचनाहरु प्रकाशित छन् । उनी ‘अन्तर्राष्टिूय परदेशी साहित्यिक समूह’का अध्यक्ष तथा ‘विश्व नेपाली साहित्य महासंघ’ विश्व केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हुन ।
वरिष्ठ सर्जक श्री कृष्णप्रकाश श्रेष्ठ १९९४ मा थानकोट, काठमाडौँमा जन्मनु भई हाल मास्को, रुसमा स्थापित छन् । पेशाले पत्रकार, अनुवादक श्रेष्ठका सहित्यिक विधा समालोचना, नियात्रा संस्मरण, कविता, भाषानुबाद रही आएको छ । यस्तै वरिष्ठ सर्जक प्रा.डा. कविता लामा १९६५ मा खर्साङ, भारतमा जन्मनु भई हाल सिक्किम विश्वविद्यालयका सहप्राध्यपक तथा लेपाली विभाग प्रमूखका रुपमा सिक्किम, भारतमा कार्यरत छन् । पेशाले प्रा.डा. लामाका सहित्यिक विधा समालोचना र कविता हो भने विशेष दखल र रुची नेपाली साहित्य तर्फको शोध, लैङ्गिक अध्ययन, र बाल साहित्य रहिआएको छ ।
०५४ सालमा स्थापित यस गुठीले नयाँ आयामको खोजी गर्ने प्रगतिउन्मूख विचारहरूलाई प्रतिपादन गर्ने वा त्यस्ता बिचारहरूको सृजनात्मक प्रयोग गर्ने एकजनालाई हरेक बर्ष सम्मान ताम्रपत्र समेत रु. १२,००० (बाह्र हजार) को अस्वीकृत विचार(साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । साथै नेपाली साहित्य सम्बन्धी उल्लेखनीय सम्बद्र्धन र प्रवद्र्धनको कार्य गर्ने विशिष्ठ व्यक्तिलाई उनीहरूका योगदानको कदर गरी अस्वीकृत विचार(साहित्य सम्मान प्रदान गर्दै आएको छ । ०२६ सालदेखि आन्दोलित अस्वीकृत जमातका “अस्वीकृत साहित्य” आन्दोलनको नाममा स्थापित यस पुरस्कारको स्थापना त्यसै आन्दोलनका प्रणेता डा. कविताराम श्रेष्ठले ०५४ सालमा आफूले आर्जन गरेका सम्पूर्ण लेखकीय पारिश्रमिक र पुरस्कारका रकमबाट अक्षयकोष खडा गरेको गुठीका अध्यक्ष नगेन्द्र शर्माले जानकारी दिए ।
































