मेलम्ची/सिन्धुपाल्चोक जिल्ला मेलम्ची क्षेत्रका कृषक व्यावसायिक कृषिबाट आत्मनिर्भर हुन थालेका छन् ।  कृषि पेसाबाटै लाखौँ आम्दानी गर्न सफल मेलम्ची नगरपालिका–९ थाक्लेका रमेश पराजुली यस क्षेत्रकै उदाहरण भएको छ । दुई दशकअघिबाट कृषिमा व्यावसायिकरुपले संलग्न हुनुभएका उनले यो पेसा आफ्नो मुख्य रोजाइमा रहेकोे बताए । प्याजको बेर्ना उत्पादन गरेर बेचेकै भरमा आफू आत्मनिर्भर बन्न सफल भएको उनको भनाइ छ । पराजुलीले अहिले दुई रोपनी जग्गामा प्याजको बेर्ना लगाए। विगत २० वर्षदेखि मेलम्ची बजारको आमाह्याल्मो चोकमा डोकामा प्याजको बेर्ना ल्याएर व्यापार शुरु गरेका अहिले उनको वार्षिक आम्दानी रु एक लाखभन्दा बढी छ । बेर्नासँगै आफूले गर्दै आएको जुनार खेती र महको व्यापारले जीविकोपार्जनलाई थप टेवा पुगेको पराजुलीले बताए। समय समयमा जिल्ला कृषि विकास कार्यालयले किसानका लागि क्षमता अभिवृद्धि तथा विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरेर उत्प्रेरणा दिने गरेकाले पनि आफूहरुलाई कृषि पेसामा रम्न सहज भएको यहाँका किसान बताउँछन् । बाह्र वर्षदेखि कृषि पेसामा आबद्ध मेलाम्ची–१२, बगुवाका किसान लेखनाथ खतिवडा पनि जिल्लाको उत्कृष्ट किसानका रुपमा परिचित छन्। कुनै बेला उत्पादन नहुँदा आजित भएर भारतको कार्गिल छिरेका खतिवडा नेपाल फर्केपछि जाइकाले कृषिका लागि अभिप्रेरित गर्न निःशुल्क तालिम र टिडी फार्म सञ्चालन गर्न सिकाएपछि अहिले मनग्य आम्दानी गर्न सफल भएको हो । जिल्ला कृषि विकास कार्यालयबाट पटक पटक सम्मान तथा पुरस्कारले कृषिमा लगाव र हौसला मिलेको खतिवडाले बताए । जिल्लाको उत्कृष्ट कृषकका रुपमा परिचित खतिवडाले वार्षिक रु पाँच लाख बढी आम्दानी गर्छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट उनले राम्रो गर्न सफल भएको हाे । घरदेखि नजिकै रहेको मेलम्ची बजारमा आफूले उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएका खतिवडा सिङ्गो गाउँको नमुना कृषक बन्नुभएको छ । तालिमलिएपछि व्यावसायिकरुपले कृषि पेसामा लाग्नुभएका खतिवडाबाट सिकेर सिङ्गो गाउँ नै यो पेसामा आकर्षित भएका हुन् ।

-रासस