शनिश्चरे, मोरङ / नेपाल भूकम्पीय जोखिममा रहेको छ । वि. सं १९९०, २०४५ पछि ०७२ सालको भूकम्पले नेपालीलाई बढी त्रास सिर्जना गरेको छ । यी र यस्ता अथवा यी भन्दा पनि ठूलो कम्पन भएका भूकम्प कति वर्षमा दोहोरिन सक्लान् भन्ने कुराको अनुसन्धान थालिएको छ ।
नेपालका साथै अमेरिका, जापानसहितका भूकम्पविद्को अनुसन्धान टोलीले झापाको दमक र इलामको चुलाचुली क्षेत्रमा पर्ने चुरे फेदीमा भूकम्पको वर्षौं पुरानो दरार फेला पारेको छ । टोलीले अध्ययनका क्रममा दमकको बेलडाँगीदेखि ३ किलोमिटर उत्तरमा भूकम्पको पुरानो दरार फेला पारेको हो ।
अमेरिकाको नेभदा विश्वविद्यालयका प्राध्यापक डा. स्टिभ बेस्नोस्की, जापानको हिरोसिना विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाहारा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भूकम्पविद् डा. दीपक चौंलागाईंसहित स्वदेशी र विदेशी विद्यार्थी समेत सम्मिलित अध्ययन टोलीले सो क्षेत्रमा अनुसन्धान गरिरहेको छ ।
दरार क्षेत्रमा धेरै वर्ष अगाडिको ठूलो भूकम्पले करीब ५ मिटर जमिन फाटेको फेला परेको भूकम्पविद् डा. चौंलागाईंले बताए । ‘करीब ८ रिक्टर स्केलभन्दा माथिको भूकम्पले यसखाले दरार बनाएको हुनसक्छ । यसखाले जमिन फाटेको यो पूर्वाञ्चलको पुरानो पहिलो अवशेष हुनसक्छ’, उनले भने ।
अनुसन्धानका क्रममा छ दिन अघिदेखि उत्खनन शुरु गरिएको चुरेको फेदीमा ६ मिटर गहिराइ, २७ मिटर लम्बाइ र २ मिटर चौडाइको खाडल खनिएको छ । सो खाडलबाट अहिले त्यहाँको कोइला र माटो सङ्कलन गरी यसलाई रेडियो कार्बन डेटिङ मार्पmत् परीक्षण गरेपछि कति वर्ष अगाडिको र कति रिक्टर स्केलको भूकम्पको दरार हो भन्ने कुरा पत्ता लाग्ने छ । ‘यसको परीक्षणपछि कति वर्षमा भूकम्पको पुनरावृत्ति हुन्छ भन्ने पत्ता लगाउन सहयोग मिल्ने भएकाले अनुसन्धान थालिएको हो’, १५ वर्ष अघिदेखि चुरे पहाडमा भूकम्पीय अध्ययन अनुसन्धानमा सक्रिय नेभादा विश्वविद्यालयका प्रा. डा. स्टीभ बेस्नोस्कीले भने, ‘मध्य नेपालमा चाहिँ अभैm भूकम्पीय जोखिम रहेको छ ।’ गोरखाको भूकम्पभन्दा अघि सन् १२५५ मा गएको भूकम्पमा काठमाडौंका राजा अभय मल्लको मृत्यु भएको आप्mनो अध्ययनले देखाएको जनाए । उनले थपे, ‘गोरखा भूकम्पले दरारमा करीब साढे ३ मिटर विस्थापन गरेको छ तर साढे ११ मिटर विस्थापन हुन बाँकी रहेकोले त्याँ अभैm पनि उच्च भूकम्पीय जोखिम छ ।’
भूउपग्रहका तस्विरहरुको अध्ययनमा नेपालमा पुरानो दरार रहेको बुझेपछि टोलीले सो क्षेत्रमा आएर अध्ययन शुरु गरेको हो । झापा र इलामको सिमानाको सो क्षेत्रमा गरिएको अध्ययनको विस्तृत विवरण केही महिनामा सार्वजनिक गर्ने तयारी छ । मोरङको मधुमल्लास्थित कान्छीचोक नजिकैको चुरे क्षेत्रमा समेत भूकम्पको दरार हुन सक्ने अध्ययन टोलीले अनुमान गरेको छ । त्यहाँ पनि केही दिनभित्रै अध्ययन टोलीले उत्खनन् जनाएको छ ।