पर्सा/नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सबै राजनीतिक दलको सहमतिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चौरसियाले संविधानलाई सर्वस्वीकार्य बनाउन र तीनै तहको निर्वाचन सम्पन्न गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नैपर्ने अवस्था रहेको बताए । नेता चौरसियाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले ल्याएको प्रस्ताव समयसाक्षेप नभएको जनाउँदै संविधानलाई कार्यान्वयन गर्न पुरानै संरचनामा भए पनि एक पटकका लागि स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेकामा जोड दिए । नेता चौरसियाले निजगढ क्षेत्रलाई २ नं प्रदेशको राजधानी बनाउन उपयुक्त हुने धारणा पनि व्यक्त राखे । रासस