jaladharखानेपानी अत्यन्तै संवेदनशील विषय हो । खानेपानी सधैँ सुरक्षित हुनुपर्दछ । सन्दर्भ सर्दू जलाधार क्षेत्रको हो । हामी यस क्षेत्रको माथिपट्टि छोटीमोरङ तथा भेडेटार क्षेत्रसमेतका बासिन्दा सर्दू जलाधार खानेपानी सरोकार निकाय र यसअन्तर्गतका खानेपानी उपभोक्ताहरुमा हार्दिकताका साथ यो अपील गर्दछौँ ।आदरणीय धरानवासीहरु, सर्दू जलाधार र यस क्षेत्रका पानीका मुहान हामी स्थानीयले संरक्षण गर्दै आएका छौँ । तपाईं धरानवासीले तोकिएको शुल्क बुझाएर पानी उपभोग गरिरहनुभएको छ । तपाईंहरुले बुझाएको महसुल मुहानको सुरक्षा तथा सरसफाइमा खर्च गरिनुपर्छ कि पर्दैन ? सर्दू जलाधार क्षेत्रको पानी सुरक्षित छैन । तसर्थ कुनै पनि समयमा समस्या आउन सक्छ । यसका लागि आउनुहोस्, हामी सबै जुटेर पानीका मुहानहरु संरक्षण गरी सुरक्षित बनाऔँ ।

यसका लागि हामी सहयोगी बन्न तयार छौँ ।वि.सं. २०२५÷२६ सालतिर फोहोर पानीको कारण धरान क्षेत्रमा भयानक झाडापखाला र हैजा पैmलन गई धेरै मानिसले यसको शिकार हुनुपरेको स्मरण हामीमा ताजा छ । हालको पानी मुहानको सुरक्षाको अवस्था हेर्दा फेरि सोही अवस्था नआउला भन्न सकिन्न । त्यस समयमा खानीखोला, डोहोते कामी खोला र सुलीकोट खोलाहरुको दोभानमा खानेपानी इन्ट्याङ्कबाट करीब ३ सय मिटर पर चिउरीबास, चिउरीबास–मूलबाटो धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुरलगायतका मानिसहरु बटुवाका रुपमा दिनहुँ हजारौँको सङ्ख्यामा हिँड्थे । मूलबाटो गौँडा चिउरीबासदेखि साँगुरी करीब १ हजार मिटर बाटोका फोहोरहरु खानीखोलामा झरेर खानीखोलाबाट इन्ट्याङ्क हुँदै रिजर्भ ट्याङ्कीमा दिसासमेत पाइपबाट पुग्थ्यो । यस्तो पानी धरानवासीको पेटमा पुगेपछि कसरी नलागोस् त झाडापखाला र हैजा ? अहिले पनि सर्दूखोला क्षेत्रको पानीखोला, डोहोते कामी खोला, सुलीकोट खोला क्षेत्रको खानेपानीको मुहान सुरक्षित छैनन् । दुश्मन कहिल्यै पनि सानो हुँदैन । सानो झिङ्गा पनि ठूलो दुश्मन हुन सक्छ । मानिसहरुको आवागमन, चौपाया चरिचरण, घाँस–दाउरा, घोँचा, काठ कटान, अवैध चोरी शिकारीहरुबाट यो क्षेत्र सुरक्षित छैन । चौपाया मर्दा खोलामै मर्ने र कुहिने हुन्छ । शिकारीले शिकार मार्दा घाइते भई भाग्ने शिकार खोलामै पुगी मर्ने र खोलाको पानीमै कुहिने हुँदा पानी प्रदूषित हुन्छ । यसै कारणले सर्दू खोलाको पानीका मुहानहरु सुरक्षित छैनन् । सर्दूखोला र पूर्वाधार  वि.सं. २०३१ सालमा सर्दू जलाधारको घोषणासँगै २०३३ सालमा धरान–धनकुटे कोशी लोकमार्गको निर्माण प्रारम्भ भएको हो । यो सडक हाल आएर जोगबनी–किमाथाङ्का अन्तर्राष्ट्रिय मार्गको रुपमा घोषणा भइसकेको छ । सर्दूखोला यो मार्गको आँपगाछीदेखि भेडेटारसम्मको ढलको फोहोर पानी मिसिने खोला हो । यो मार्र्गमा दैनिक हजारौँ गाडी गुड्ने हुँदा यहाँ कति फोहोर हुनसक्छ भन्ने अनुमान हामीले सहजै गर्न सक्छौँ । यस्तो असुरक्षित क्षेत्र जलाधार क्षेत्र हुनु हुँदैन । मानिसलाई फोहोरमैला र रोगको शिकार बनाउनु हुँदैन । यस विषयमा तपाईं आम उपभोक्ताहरु सचेत बन्न जरुरी छ भन्ने सुझाव दिन चाहन्छौँ ।सर्दू तथा खर्दू क्षेत्रका पानीका मुहानहरु सफा, स्वच्छ र सुरक्षित बनाउने विकल्पहरु धेरै छन् । पहिलो विकल्प स्थानीयसँग सहमति र सहकार्य हो । दोस्रो, भूक्षय रोक्न धरानको फुस्रे छेउबाट खोलाका सबै मुहानदेखि करीब ३ सय मिटर माथिसम्म चेकड्याम टेवा पर्खाल लगाउनुपर्छ । तेस्रो, पानीको मुहान शिरहरुबाट ४ सय मिटर माथिबाट फोहोर निकास हुने ढल निर्माणको व्यवस्था गरिनुपर्दछ । चौथो, नामेटार खोला, गढी खोला, सेङ्दान खोला, खानीखोला, डोहोते कामी खोला र सुलीकोट खोलाहरुमा छुट्टाछुट्टै इन्ट्याङ्कहरु निर्माण गरिएमा फोहोर निकास हुने ढलको फोहोर पानीबाट सुरक्षित बनाउन सकिने सुझाव यस अपीलमार्पmत् गर्दछौँ । यसबमोजिमका कार्य गरिएमा सर्दूखर्दू क्षेत्रबाट प्रतिदिन तीन करोड लिटर पानी जम्मा गर्न सकिनेछ । हामी विवादमा अलमलिनुभन्दा खानेपानी सुरक्षित र व्यवस्थापन गर्ने योजनामा लाग्नु राम्रो हुनेछ । हामी भूमाफिया होइनौँ, भूमिपुत्र हौँ, भूमिपुजक हौँ । यो छोटीमोङ ऐतिहासिक किराँत क्षेत्र हो । किराँत राजा रिछेनहाङ छोटी राजाको राजधानी छोटीमोरङ हो । यहाँको माटो हाम्रा पितापुर्खाहरुको पसिना र रगतले सिञ्चिएको छ । हाम्रा पुर्खाहरुको अवशेषले मलिलो भएको माटो हो भन्ने कुरा राख्न चाहन्छौँ ।यसै सन्दर्भमा सफा र स्वच्छ सुरक्षित खानेपानी पाउने धराने जनताको अधिकार सुनिश्चित हुनुपर्दछ । साथै, ऐतिहासिक भूमि उपयोगको अधिकार यहाँका किराँती आदिवासीहरुलाई हुनुपर्दछ । जलाधार ऐन २०३९ र भू–उपयोगको कुरा  वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन २०४८ द्वारा संशोधितः नेपाल सरकारले तोकिएका भू तथा जलाधार संरक्षणसम्बन्धी कार्यहरु गर्ने । संरक्षित जलाधार क्षेत्रभित्रको जग्गाको वर्गीकरण ः १) दफा ४ को प्रयोजनका लागि संरक्षित जलाधार क्षेत्रभित्रको जग्गालाई जलाधार संरक्षण अधिकृतले तोकिदिएबमोजिम वर्गीकरण गर्न सक्नेछ । भू–उपयोगिता प्रणाली अपनाएर खेती गर्ने ः १. जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधार क्षेत्रभित्रको तोकिदिएको जग्गामा भू–उपयोगिता प्रणाली अपनाई कुनै बालि वा फलपूmल जडीबुटीको खेती गर्न तथा रुखबिरुवा वा घाँस लगाउन वा अन्य कुनै कार्य गराउन सक्नेछ । यसरी वन ऐन तथा जलाधार नीतिले प्रशस्त उपयोगिता नीतिहरु अपनाएको अवगत गराउँछु । धरान उपमहानगरपालिका क्षेत्रलाई भौगोलिक, पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा वातावरणीय पर्यटन प्रवद्र्धन एवम् विकासको ठूलो सम्भावना भएको ठाउँका रुपमा लिनुपर्दछ । भौगोलिक ः धरानलाई माथिल्लो भागमा तीनतिरबाट पौराणिक महाभारत शृङ्खलाले घेरेको छ र तल समथल नगरी रहेको छ । पौराणिकः यसै क्षेत्रमा पिण्डेश्वर, दन्तकाली, वराहक्षेत्र र विष्णुपादुकासमेत छन् । ऐतिहासिक ः किराँतकालमा बुद्धिकर्ण किराँत राजाका छोरा छोटी राजा रिछेनहाङको राजधानी छोटीमोरङमा थियो । यो क्षेत्र अहिले धरान उपमहानगरपालिका–२० पारुहाङडाँडा हो । हामी किराँतीहरूका ढुकढुकी बनेका देवता पारुहाङ–सुम्निमाको मन्दिर यहाँ निर्माण गरिँदैछ । सबै धर्म समान छन् । पारुहाङ–सुम्निमाको मन्दिर खर्दू खोलाबाट १ हजार मिटर टाढा छ अनि सबै मन्दिरकै नाममा जग्गा दर्ता छ । सूर्योदय बिगबुद्ध बिहारको शिलान्यास गत कात्तिक २३ गते सम्माननीय सभामुख ओनसरी घर्ती मगरज्यूको बाहुलीबाट भएको छ । यो बुद्ध बिहार निर्माणस्थल पारुहाङ–सुम्निमाको मन्दिर निर्माण स्थलबाट दक्षिण ३ सय मिटर टाढा छ भने खर्दू खोलाको शिरबाट १३ सय मिटर टाढा पर्दछ । यसरी हेर्दा कसरी जलाधारलाई असर पर्दछ ? के जलाधारलाई असर पर्छ भन्दै विरोध गर्नेहरुले अहिलेसम्मको हराभरा जङ्गललाई संरक्षण गरेका हुन् त ? यो जलाधार जोगाउने त स्थानीय नै हुन् । यसरी जलाधार जोगाउनेहरुको विरोध गरेर विकास हुन्छ त ? के कुनै विकल्प छैन ? विकल्प अवश्य छ । समन्वय, सहमति, सम्झौता र सहकार्य गरेर उल्लेखित विषयहरुलाई व्यवस्थित र विकास गरौँ । विश्व शान्तिका अग्रदूत गौतम बुद्ध अनि ‘नेपालको धन, धरानको शान’ पारुहाङडाँडा छोटीमोरङमा सूर्योदय बिगबुद्ध बिहार निर्माण गरौँ र गर्नैपर्दछ । विशेष गरी वातावरणीय पर्यटन प्रवद्र्धन र विकासमा जोड गरौँ र वन ऐन–नीतिनियमहरुअनुसार भू–उपयोग प्रणाली अपनाएर यस क्षेत्रको विकास गरी हामी सबैले लाभ लिऔँ भन्दै हार्दिकताका साथ अपील गर्दछु ।