प्रधानमन्त्रि केपी ओलीले भोली उद्घाटन गर्ने,uml_flag-300x275

धरान /  नेकपा (एमाले) धरान उपमहानगर विशेष इलाका संगठन कमिटीको सातौं अधिवेशनको चटारोले एमालेजन बेफुर्सदिला देखिन थालेका छन् । शुक्रबार र शनिबार धरानमा हुने दुई दिने अघिवेशनका कारण यतिखेर गोप्य भेला, बैठक र छलफलमा जुटेका मात्रै छैनन्, तीनवर्षको लागि आफ्ना नेता छान्ने भित्री खेलमासमेत लागेका छन् ।
कार्यकर्तामा यतिखेर कस्लाई अध्यक्ष बनाउने भनेर भित्री तयारी हुन थालिसकेको छ । दुई कार्यकाल अध्यक्ष पदमा रहेर जिम्मेवारी निभाइसकेका अध्यक्ष तारा सुब्बा फेरि पनि निरन्तरता दिने मुडमा छन् । उनले अध्यक्ष पदका लागि लगभग केही मिडियामार्फत् सार्वजनिकसमेत गरिसकेका छन् । तर, उनले आफूलाई अहिले नै अध्यक्षको लागि नाम अघि नसारेको बताए । ‘कार्यकर्ताहरुले आवश्यक ठानेमा म फेरि गर्न तयार छु ।’ उनले भने ‘तर, तेस्रो कार्यकाल भएको कारणले बसिरहनु भन्दा पनि उचित व्यवस्थापन भएमा छाडौं भन्ने नै छ ।’ आफूले छाडेको खण्डमा हालका उपाध्यक्ष नारायण सुवेदी अध्यक्षको लागि सम्भावित नाम रहेको अध्यक्ष सुब्बाले बताए ।
तर, बजारमा अध्यक्ष पदमा उपाध्यक्ष सुवेदीको अलवा अर्को नामसमेत सुनिन थालिएको छ । अध्यक्षको प्रत्यासीको रुपमा अग्रज पत्रकार किशोरकुमार कार्कीको नाम पनि आइरहेको छ । सुब्बाको निरन्तरता र कार्कीले अध्यक्षमा ‘डेब्यु’ गर्न खोज्दैछन् । जसरी बजारमा हल्ला सुनिन थालिएको छ त्यसैगरी ‘आम कार्यकर्ताहरुले इच्छाएको खण्डमा आफ्नो पनि’ सम्भावनाको बाटो खुल्ने कार्कीले प्रतिक्रिया दिए । तर, कार्यकर्ताले जवसम्म ‘ग्रिन सिङग्नल’ देखाउँदैनन तवसम्म उठिहाल्ने पक्षमा कार्की छैनन् ।
लामो समयदेखि पार्टीमा योगदान दिएकाले पनि आफ्नो नाम अध्यक्ष पदको लागि बजारमा आउनुलाई कार्की सकरात्मक रुपमा लिन्छन् । ‘साथीभाइले रुचाउनुभयो, किशोर कार्की जानुपर्छ भन्नुभयो बाटो खुल्ला हुन्छ।’ उनले भने । उपाध्यक्ष पदमा रहेर कार्यरत नारायण सुवेदी पनि अध्यक्षको लागि आकांक्षी हुन् । तर, उनी खुलिसकेका छैनन् । सुवेदीले भने ‘राजनीतिक गर्नेले माथिल्लो पदको लागि आकंक्षा राख्छ । तर, हल कसरी अघि बढ्छ त्यो अनुसार म पनि अघि बढ्ने हो ।’ यसो हुँदा अध्यक्ष पदमा राम्रै भिडन्त हुने देखिदै छ ।
सचिव पदका लागि पनि तीनजना आकंक्षी देखिएका छन् । हाल कार्यरत सचिव राजमणी निरौला, सचिवालय सदस्यद्धय ऋषी राई र हर्कजङ्ग एभेङ्ग । तर, हाल कार्यरत निरौला आफै पनि निरन्तरता दिने पक्षमा देखिएका छन् । अहिले एमाले वृतमा गृहकार्य चाही अझै एक कार्यकाल पुरानैलाई दिएर जाने भन्ने छ । त्यसो हुँदा राजमणी नै पुनः सचिव हुने सम्भावना बलियो छ । ‘एक कार्यकाल पूरानैलाई दिने भन्ने छ । त्यसो हुँदा मेरो तलमाथि हुने स्थिति छैन् ।’ सचिव निरौलाले भने ।
तर, कार्यकर्ताजन पुरानैलाई मान्ने पक्षमा देखिदैनन् । सचिवालय सदस्यद्धय राई र एभेङ्गले सचिवमा उठ्ने पक्कापक्की भएको दाबी गरे । ‘हाम्रो पक्कापक्की नै हो ।’ फोनसम्पर्क गर्दा दुबैले भने । एभेङ्गले टिम मिलाउँदा तलमाथि पर्न सक्ने भए पनि आफ्नो पद दावी चाही सचिव नै रहेको बताए । काम गरेको आधारमा हाम्रो पनि योग्यता पुग्ने उनीहरुले बताए । त्यसो हुँदा सचिवमा कस्ले बाजी मार्ला बन्दसत्र कुर्नु पर्ने निश्चित छ । एमालेजनमा हाल आएर ‘कर्मचारी सिस्टम भयो’ भन्दै विरोधका स्वर उरालिन थालेका छन् । यसले पनि एमालेको सातौं अधिवेशनमा ‘लोकतान्त्रिक लडाई’ हुने संकेत देखिदै छ ।
यो पटक विशेष इलाका संगठन कमिटीमा ६१ सदस्यीय समिति निर्वाचित हुँदै छन् । जहाँ खुल्ला तर्फ ८ जना, भुगोलबाट २५, जनजातिबाट २, दलितबाट २, कर्मचारीबाट दुई, महिलाबाट १२, कर्मचारीबाट २, पदाधिकारीबाट ४, मजदुरबाट १ र ठूला वार्डको हकमा थप ८ जना सदस्यहरु रहने छन् । अधिवेशनमा १९ मनोनितसहित ३९३ जना प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुने छन् ।  अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा सरकारका प्रधानमन्त्रि केपी ओलीले विहान ११ बजे धरानको भानुचौकमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।