सुनसरी  । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जनावर खेतमा पस्न थालेपछि कोसी क्षेत्रका किसान जाग्राम बस्न बाध्य भएका छन् । वर्षौंदेखि भौतिकसँगै मानवीय क्षति गर्दै आएको मकुना हात्तीको मृत्युपश्चात् हात्ती आतङ्क रोकिए पनि अन्य जनावर आतङ्क भने यथावत् रहेको यहाँका किसान बताउँछन् । कोसीटप्पु वन्यजन्तु आरक्षका अर्ना, बँदेललगायतका जङ्गली जनावरको आतङ्क बढ्दा गहुँ बाली जोगाउन सकिने अवस्था नरहेको कोसी गाउँपालिका वडानम्बर ३ का किसान अरविन्द्र राउतले गुनासो गरे ।

जङ्गली जनावरको समूहले दुई हप्तायता २० बिघाभन्दा बढी गहुँबाली नष्ट गरिदिएको उनको भनाइ छ । खेतको बाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि आजित किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको कोसी गाउँपालिका वडानम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरीले बताए ।

कोसी गाउँपालिकाको वडानम्बर ३,४, ५, ६, ७ र ८ का किसानले लगाएको गहुँ बाली जङ्गली जनावरले नष्ट गरिदिने क्रम बढेको उनले बताए । जङ्गली जनावरको उपद्रोले वर्षभरि खाने बाली नष्ट भएको गुनासो गर्दै कोसी गाउँपालिका वडानम्बर ८ का किसान सहिद मियाँले भने, ‘जङ्गली जनावरले वर्षभरि खाने गहुँ बाली नष्ट गरिदिएपछि समस्यामा परेको छु, किसानको समाधान कसले गरिदिन्छ ?’ जङ्गली जनावर नियन्त्रण गर्न नसक्नु दुःखद् कुरा भएको बताउँदै उनले आफूहरूलाई विकल्प देखाइदिन आग्रह गरे ।

मियाँका अनुसार दुईहप्तायता जङ्गली जनावरले स्थानीय लतिफ मन्सुरी, साहजन मियाँ, असरफ अहमद, धर्मेन्द्र कामैत, जितु मण्डल, कापैर यादवलगायत दर्जनौं किसानको १५ बिघा बढी गहुँ खेती नष्ट गरेको छ । सम्बन्धित निकायले आफ्ना समस्यालाई गम्भीरतापूर्वक नलिए आन्दोलनमा उत्रने किसानले चेतावनीसमेत दिएका छन् ।

किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउँदै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले तर, समस्या निराकरण गर्न गाउँपालिकाले मात्रै केही गर्न सक्ने अवस्था भने नरहेकोे बताए । हात्ती, अर्ना, बँदेललगायत जङ्गली जनावरका कारण उत्पन्न भएको समस्याका विषयमा पटक–पटक कुरा उठाउँदै आए पनि कोसीटप्पु वन्यजन्तु आरक्ष समस्या समाधान गर्न उदासीन देखिएको अध्यक्ष अन्सारीको भनाइ छ ।

‘किसानको अवस्था र उनीहरूको तहस–नहस भएको बाली हेर्दा आँसु आउँछ’ उनले भने, ‘तर, यो समस्या गाउँपालिकाले मात्रै समाधान गर्नसक्ने अवस्था छैन । माथिल्लो निकायमा कुरा राख्दा सुनुवाइ नै हुँदैन ।’ वन्यजन्तु आरक्षबाट निस्केर आउने जनावरको समूहले किसानले लगाएको मकै, केरा, गहुँ खेती सबै नष्ट गरिदिने गरेको छ ।

यता कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार सिंहले किसानहरूले प्रक्रियाअनुसार निवेदन दिएको खण्डमा आरक्षबाट न्यूनतम् क्षतिपूर्ति पाउने प्रावधान रहेको बताए । बालीनाली नष्ट भएकालाई बढीमा १० हजार, जनावरको आक्रमणबाट गम्भीर घाइते भएकालाई २ लाख र मान्छेको मृत्यु भएमा १० लाखसम्म क्षतिपूर्तिको व्यवस्था रहेको सिंहले बताए । मध्यवर्ती क्षेत्रमा तारजाली लगाएर जङ्गली जनावर रोक्न सकिने सम्भावना रहे पनि तत्काल जङ्गली जनावर रोक्न सकिने अवस्था नरहेको उनले बताए ।