भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतीय आधारमा नभए बहुमतीय आधारमा भए पनि प्रदेशको नामकरण गरिने बताएका छन् ।

गृह जिल्ला झापाको दमक नगरपालिका–५ स्थित बौद्ध गुम्बा परिसरमा आइतबार सोनाम ल्होछारको अवसरमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाको औचित्यका विषयमा नागरिकस्तरबाटै प्रश्न उठिरहेकाले त्यसको पुष्टि गरिने बताए ।

प्रदेश संरचनाको सुरुवातकालदेखि नै उत्पन्न निराशा र केही आलोचनाहरूप्रति आफू गम्भीर रहेको पनि मुख्यमन्त्री कार्कीको भनाइ थियो । प्रदेश सरकारलाई मितव्ययी र जनअपेक्षाकृत बनाउने उद्देश्य राखेर नै सानो आकारको मन्त्रीमण्डल बनाएको पनि जिकिर गरे ।

विभिन्न जातजातिका मौलिक चाडपर्व, संस्कृति र रीतिरिवाजहरू बहुमूल्य सम्पत्ति भएको उनले सुनाए । उनले प्रदेश सरकारले विभिन्न जातजातिको मौलिकता र पहिचानको संरक्षणका लागि प्रदेशस्तरमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको पनि उल्लखे गरे ।

उनले दमकस्थित यस गुम्बामार्फत् तामाङ समुदायको संस्कृति र मौलिकता संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले धेरै तडकभडक नगरी आफ्नो मौलिकता र संस्कृति जगेर्ना गर्ने किसिमका कार्यक्रमहरू अघि बढाउन आग्रह गरे ।