इनरुवा । इनरुवामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको छ । इनरुवा उत्सव तथा चलचित्र महोत्सव आयोजना गर्न लागेको चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले कार्यक्रमका बारेमा छलफल थालेको छ ।

चलचित्र महासङ्घ प्रदेश १ का अध्यक्षसमेत रहेका महोत्सव आयोजक कमिटी संयोजक अरुणकुमार प्रधानले महोत्सव तयारीबारे सरोकारवालासँग छलफल अघि बढाएका हुन् । सोही अनुसार सत्यनारायण मन्दिरमा सञ्चारकर्मीसहित स्थानीय व्यापारी, सङ्घ–संस्थाका प्रतिनिधि, सरोकारवाला र नगरवासी सम्मिलित भेलामा कार्यक्रम तयारीबारे जानकारी गराइएको छ ।

आयोजक कमिटी संयोजक प्रधानका अनुसार महोत्सव इनरुवाको पहिचान राष्ट्रव्यापीरूपमा झल्काउन महत्वपूर्ण सावित हुनेछ । उनले आफ्नो जन्मभूमिमा राष्ट्रिय कलाकारसहितको उपस्थितिमा बृहत् कार्यक्रम आयोजना गर्न चाहेको बताए ।

प्रधानले इनरुवाको पहिचान झल्काउँदै स्थानीय कला र संस्कृतिको सम्बद्र्धन तथा प्रवद्र्धनका लागि कार्यक्रमको नाम इनरुवा उत्सव तथा चलचित्र महोत्सव तय गरिएको बताए । उनले कार्यक्रममा नगरमा विशिष्ट योगदान पु¥याउनेसहित विधागत उत्कृष्ट ठहरिएका नागरिकलाई सम्मान गरिने बताए । भेलामा सहभागीमाझ कार्यक्रमको ढाँचाबारे जानकारी गराउँदै उनले बेहुली प्रतियोगिता, फेन्सी पोसाक प्रतियोगितासहित विविध प्रतिस्पर्धा आयोजना गराइने बताए ।

चलचित्र प्रदर्शनीका साथै रमाइलो मेलासहित विविध स्टलहरू राखिने भएकाले महोत्सवले व्यापार–व्यवसायसँगै नगरको पहिचान प्रवद्र्धनमा योगदान दिने उनले विश्वास व्यक्त गरे । जसका लागि प्रधानले सबैको साथ सहयोग आवश्यकता रहेको बताए । कार्यक्रममा सहभागीहरूले इनरुवा उत्सव तथा चलचित्र महोत्सवलाई आ–आफ्नो तर्फबाट साथ र सहयोगको प्रतिबद्धता जनाए । उनीहरूले क्रमागत छलफल अघि बढाउँदै लैजान सुझाव पनि दिए । कार्यक्रमलाई आम नगरबासीले समेत साथ दिनेमा उनीहरू ढुक्क देखिन्थे ।

कार्यक्रममा डाक्टर देवराज घिमिरे, पत्रकार इकवाल अहमद, राजन निरौला, जयकृष्ण यादवसहित सामाजिक अगुवा सरिता घिमिरे कार्की, बिनिता दाहाललगायतले धारणा राखेका थिए ।

महोत्सव फागुन ७ गतेबाट ११ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको छ । आयोजक कमिटी संयोजक प्रधानले महोत्सव सफल बनाउन प्रदेश १ सरकारसमेतको सहयोगको खाँचो रहेको बताए ।