धरान :

हेयर, मेकअप तथा कस्मेटोलोजी क्षेत्रमा सक्रिय धरानकी फुर्दिकी शेर्पा (दिकी)ले दुई वटा अवार्ड जीतेकी छन् ।

काठमाडौं स्थित होटल हायातमा सम्पन्न चौथो संस्करणको ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एण्ड मोडल अवार्ड-२०२२’मा फुर्दिकीले उत्कृष्ट हेयर/मेकअप आर्टिष्ट र सर्वश्रेष्ठ कस्मेटोलोजिस्ट गरी दुई अवार्ड जीतेकी हुन् । 

धरानमा ब्युटिसियन कोर्ष गरेकी उनी लामो समयदेखि  काठमाडौंमा रहेर मेकअप, हेयर डिजाईन, नेल आर्टको काम गर्दै आएकी छन् । उनको पुख्यौली थलो भने भोजपुर हो । फुर्दिकीले इमेज अवार्ड, मिस्टर एन्ड मिस प्यासिफिक नेपाल, मिस शेर्पा लगायतका कयौं अवार्ड तथा ब्युटिप्याजेन्टमा हेयर एन्ड मेकअप आर्टिंष्टका रुपमा काम गरिसकेकी छन् । उनले इभेन्टहरुमा मोडल कोअर्डिनेटरको काम समेत गर्दै आएकी छन् ।

त्यसैगरी क्लासिक डाईमन्ड ज्वेलर्स, सङ्स नेपाल, हाउस अफ फेशन नेपाल, एमसी स्टुडियो लगायतमा पनि मेकअपको काम गरेकी फुर्दिकी यिनै कामहरुको आधारमा अवार्डका लागि मनोनयनमा परेकी थिईन् । ‘वेष्ट हेयर/मेकअप आर्टिष्ट’ विधामा फुर्दिकीसँगै चर्चित मेकअप आर्टिष्टहरु सोफिया सुनुवार र सुमन लामा मनोनयनमा परेका थिए । निणर्ायकहरुको नजरमा फुर्दिकी उत्कृष्ट ठहरिईन् ।

त्यस्तै ‘वेष्ट कस्मेटोलोजिष्ट’ विधामा उनीसँगै डा.रेखा थापा र पवि गुरुङ मनोनयनमा परेका थिए । यो विधामा पनि फुर्दिकीले नै अवार्ड जीत्न सफल भईन् । अवार्ड जीतेपछि उनले भनिन्, ‘आफु नोमिनेसनमा परेको पनि ढिलो गरी थाहा पाएकी थिएँ । दुई विधामा अवार्ड जीतेको खबर पाउँदा आफ्नो कामको मूल्याङ्कन भएको महसुस गरेकी छु ।’

diki

भ्रमणका लागि हाल जापान पुगेकी उनी अवार्ड वितरण समारोहमा भने उपस्थित हुन सकिनन् । कार्यक्रममा फिल्म, मोडलिङ, ब्युटी तथा फेशन क्षेत्रका सेलिब्रेटीहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

जसमा मोडलिङतर्फ ४० विधामा तथा फेशनतर्फ ४० विधा र अन्य २३ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । टच इन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड अभिनेताद्वय यसराज गराच, दिक्पाल कार्की तथा मोडल राजन बुढाथोकीले आयोजना गरेका हुन् ।