भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्षबाट गाउँ पस्ने जङ्गली हात्तीको त्रासले कोशी गाउँपालिका क्षेत्रका सर्वसाधारण फेरि आतङ्कित भएका छन् । रातिको समयमा आउने हात्तीको समूहले स्थानीयका घर, गोठ भत्काउनुका साथै बालीनाली नष्ट गर्न थालेपछि यहाँका सर्वसाधारण आतङ्कित भएका हुन् ।

शुक्रबार बिहान आरक्षबाट निस्केर आएको हात्तीले कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारीमा आधादर्जन घरमा क्षति पुर्याएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीले स्थानीय नितिश मण्डल, मोहित मण्डल, रियाज मियाँ, उमर मियाँ, रामु कुमार, सृजना राईको घरमा क्षति पु¥याएको हो । घरमा सुतिरहेको अवस्थामा आएको हात्तीले आक्रमण गर्दा स्थानीय बौवा मियाँ सामान्य घाइते भएका छन् । उनको खुट्टा र हातमा चोट लागेको छ ।

दुई महिनादेखि बन्द भएको हात्ती आतङ्क केही दिनयता मध्यरातमा सुतिरहेको समयमा आउने गरेकोले त्रसित भएको स्थानीय सजाद आलमले बताए । हात्तीको गतिविधि हेर्दा उसले मानिसको गन्ध सुँघेरै आक्रमण गर्न थालेको बताउँदै उनले मध्यराति सुतिरहेकै अवस्थामा घर भत्काउने गरेको जनाए । हात्तीले आक्रमण गर्न थालेपछि लखेट्न गाउँले जाग्राम बस्नुपरेको आलमले बताए । घर भत्काउनुका साथै स्थानीयले लगाएको बालीनालीसमेत नष्ट गरिदिँदा आफूहरू दोहोरो समस्यामा परेको पीडित राम कुमारले बताए । बर्सेनी हात्ती गाउँ पसेर स्थानीयलाई आजित पार्ने गरे पनि नियन्त्रणमा ठोस पहल नभएको उनले गुनासो गरे ।

सुतिरहेको अवस्थामा राति घर भत्काउँदा भागेर ज्यान जोगाएको रामले बताए । घेराबारा गरिए पनि प्रभावकारी नभएकोले हात्ती गाउँ पस्ने क्रम नरोकिएको उनको भनाइ छ । पटक–पटक हात्ती आतङ्क रोक्न आफूहरूले ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको बताउँदै पीडितहरूले भण्टाबारीमा पूर्व –पश्चिम राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् । हात्ती आतङ्क रोक्नुपर्ने, पीडितलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार गर्नुपर्नेसहितका आफूहरूको माग सम्बोधन नगरिए बाध्य भई राजमार्ग अवरुद्ध गर्ने तयारीमा रहेको स्थानीयले बताए ।

प्रभावहीन विद्युतीय घेरा
कोशीटप्पु वन्यजन्तु आरक्षले विद्युतीय तारले घेराबारा गरे पनि हात्ती आतङ्क रोकिएको छैन । आरक्षले हात्तीसहितका जङ्गली जनावरलाई बाहिर आउनबाट रोक्न लगाएको विद्युतीय घेराबारा प्रभावहीन रहेको बारे पटक–पटक समाचार सम्प्रेषण भए पनि कोशीटप्पु वन्यजन्तु आरक्षले वैकल्पिक बाटो खोज्न पहल गरेको पाइँदैन । जसले गर्दा हात्ती र मानवबीचको द्वन्द्व घटेको छैन । कोशी गाउँपालिका–८, ३, ७, ४ र ५ वडाका विभिन्न क्षेत्रमा रैथाने जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी सर्वसाधारण लाई त्रसित बनाउँदै आएका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट रातको समयमा आउने हात्तीको समूहले घर भत्काई भण्डारण गरी राखेको धान, गहुँ, चामल, पिठो, मकै, खानुका साथै नष्ट गर्दै आएको छ । सोलार तारले घेराबारा गरिएको भनिए पनि गाउँलेहरू त्रासमुक्त नरहेको भण्टाबारीका दिलजान आलम बताउँछन् । साँझ परेपछि हात्ती खेदाउनमै रात बित्ने गरेको उनले जनाए । २०३२ सालमा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको ७५ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । आरक्षभित्रबाट गाउँ पस्ने हात्ती र अर्नाको समूहले अन्नबालीमा क्षति पु¥याउनुका साथै मानवीय क्षतिसमेत गर्दै आएको छ ।