भण्टावारी/ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा रहेको तीनकुने खण्डलाई गुगल म्यापमा भारतीय भूमि देखाइएको पाइएको छ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाली सिमाना अतिक्रमण गरेको भन्दै भारतविरुद्ध प्रदर्शन भइरहेको बेला यस्तो नयाँ तथ्य फेला परेको हो । गुगल म्यापमा भण्टाबारीस्थित तीनकुनेको राजमार्ग क्षेत्रलाई भारततर्फ देखाएपछि स्थानीय सशङ्कित बनेका छन् ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ कोशी ब्यारेज जाने बाटोमा रहेको चारकुनेको हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व राजमार्गबाट कोशी गाउँपालिकाको हरिपुर क्षेत्रको करिब ६ सय ५० मिटरसम्मको राजमार्गलाई गुगल म्यापले भारततर्फ देखाएको देखिन्छ । यो विषयमा सुनसरीका प्रायःजसो सरोकारवाला पक्ष बेखबर नै छन् । यतिबेला भारतीय नागरिक सुन्दर पिचाई गुगलका प्रमुख कार्यकारी सिइओ भएकोले नेपालको भू–भागलाई बदनियतपूर्वक भारततर्फ देखाएको हुनसक्ने स्थानीयको भनाइ छ । गुगल म्यापमा नेपाली भू–भागलाई जानीजानी भारततर्फमा देखाएको वा त्रुटी भएकोबारे यथाशीघ्र छानबिन गरी म्याप सच्याउन भण्टाबारीका स्थानीयले माग गरेका छन् ।

२६ वटा सीमास्तम्भ सुरक्षित
सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित तीनकुने खण्डलाई गुगल म्यापमा भारतीय भूमि भनी देखाइए पनि २६ वटा सीमास्तम्भ सुरक्षित रूपमै रहेको सशस्त्र प्रहरीले जनाएको छ । भण्टाबारी क्षेत्रका केही भू–भाग गुगल म्यापले भारततर्फ देखाएको भन्दै समाचार तथा सामाजिक सञ्जालमा आएपछि सोमबार सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीले गरेको गस्तीमा ४९ वटामध्ये २६ सुरक्षित रहेको पाइएको स्थानीय सशस्त्र प्रहरीको भनाइ छ । स्थलगत हिसाबले नेपाली भू–भाग अतिक्रमण गरेको नदेखिए पनि गुगल म्यापमा नेपाली भू–भागलाई भारतको भनेर देखाउनु ज्यादती भएको इन्स्पेक्टर प्रेमसिंह विष्ट बताउँछन् ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले गुगल म्यापको आधिकारिकतामाथि प्रश्न उठाउँदै त्यो मान्य नभएको बताए । उनले भने, ‘सबै नेपाली भू–भाग सुरक्षित नै छ, कुन म्यापले के देखाउँछ, त्यसमाथि विश्वास गरेर भ्रममा पर्नु हुँदैन ।’ सिमानाको सन्दर्भमा कुन म्यापमा के देखियो भन्ने बारेमा धारणा दिने काम प्रमुख जिल्ला अधिकारीको नभई नेपाल सरकारको भएको उनले बताए । नेपाली भूमि कसैले एक इञ्च पनि अतिक्रमण गर्न नहुनेमा आफू प्रतिबद्ध भएको प्रजिअ पौडेलको कथन छ ।