मानव शरीरको वृद्धि र विकास सन्तुलित रूपमा गर्न र स्वस्थ रहनको लागि आवश्यक पर्ने रासायनिक यौगिक तŒव नै भिटामिन हुन् । यिनीहरू कममात्रामा आवश्यक भए पनि शरीरलाई स्वस्थ राख्न र रोगबाट बच्न भिटामिनको अनिवार्य आवश्यकता पर्दछ । भिटामिनहरू मुख्यतयाः पानीमा घुल्नेः जस्तै भिटामिन बी तथा सी र चिल्लो पदार्थमा घुल्ने जस्तै भिटामिन ए, डि, इ, र के पर्दछन् ।

भिट्टामिन ए भएका तत्वहरूको सेवनले समग्र रूपमा स्वास्थ्य रहन र दीर्घरोग विरुद्ध उत्कृट मानिन्छ । दैनिकआहारमा भिटामिन ए को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यस्तै, राती नदेख्ने रतन्धो रोगबाट जोगाउँछ । आँखा तेजिलो बनाउँछ । यतिमात्र होइन, भिटामिन ए ले छाला, श्वासप्रश्वास तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोगसमेत लाग्न दिँदैन ।

भिटामिन ए को क्लिनिकल प्रयोग
विशेष गरी वाल स्वास्थ्य सम्बन्धी रोग र समस्याहरूमा भिटामिन ए को प्रयोग गरिन्छ । जस्तैः रतन्धो रोग, दादुरा, दीर्घ झाडापखला, कडा कुपोषण, छालाको रोग आदि ।

भिटामिन ए को कमीवाट हुने असरहरू
प्रायजसो भिटामिन ए को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्दछ । यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घरोगहरू देखा पर्दछन् ।

भिटामिन ए को कमी भएका लक्षणहरू
छाला सुख्खा हुनु र छालाको पटक पटक सङ्क्रमण हुनु ।
आँखा सुख्खा हुनु ।
राती आँखा देख्न गाह्रो हुनु ।
गर्भाधान नहुनु ।
बालबालिकाको ढिलो विकास हुनु ।
पटक पटक छाती तथा घाँटीको सङ्क्रमण हुनु ।
घाउ ढिलो निको हुनु आदि ।

भिटामिन ए कसरी पाइन्छ ?
भिट्टामिन ए को महत्वपूर्ण स्रोतहरूमा गाँजर, पालुङ्गो, रायोलगायत हरिया सागसब्जी, मेवा, आँप आदि पहेँला फलफूलहरू, माछा, घिउ, अण्डाको पहेँलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्दछन् । त्यसै गरी नेपाल सरकारले राष्ट्रिय रूपमा छ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

वर्षको दुई पटक कार्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ए र जुकाको औषधी वितरण गरिन्छ । यी औषधीहरू विगत २५ वर्षदेखि वितरण गरिँदै छन् । यस पटक पनि २०७६ साल वैशाख ६ र ७ गते देशैभर महिला स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्यकर्मीबाट वितरण गरिँदै छ । आफ्ना बालबच्चालाई नजिकैको भिटामिन ए वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगी भिटामिन ए खुवाई भिटामिन ए को कमीबाट हुने माथि उल्लेखित असरहरूबाट बचाऔँ । यसले बाल मृत्युदर घटाउन सहयोग पुर्याउन भएकाले सचेत बनौँ ।

इमरजेन्सी विभागप्रमुख, इटहरी अस्पताल