भद्रपुर/ भद्रपुर लगायत आसपासका क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि युवा वैज्ञानिक अनिल प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका छन् ।

भद्रपुर नगरपालिका १ का युवा वैज्ञानिक प्रधानले ड्रोन साइरन बनाएको भद्रपुर नगरपालिकाले जनाएको छ । अन्य स्थानसँगै भद्रपुरको १ र २ नम्बर वडामा जङ्गली हात्ती निस्किन थालेपछि स्थानीयले प्रहरी र वन कर्मचारी होइन अनिललाई खबर गर्न थालेका छन् ।

अहिले प्रहरी र वनलाई भन्दा पनि स्थानीयले अनिललाई खबर गर्न थालेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । मेयर श्रेष्ठका अनुसार हात्ती आतङ्कका बारे जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार भएको छलफलमा समेत अनिलले बनाएको ड्रोन साइरनको बारेमा जानकारी गराइएको बताए ।

वडा नम्बर १ र २ मा गरिएको प्रयोग सफल भएको उनको भनाइ छ । हात्ती खेदाउन बनाइएको ड्रोन साइरन प्रभावकारी भइरहेको उनको भनाइ छ । अनिल युवा वैज्ञानिकतर्फबाट नेपालको प्रतिनिधित्व गर्दै टर्की भ्रमणमा जाँदै छन् ।