भण्टावारी / खुला सीमाको कारण अरू जिल्लाभन्दा सुनसरी सुरक्षा दृष्टिकोणले अति संवेदनशील मानिन्छ ।
भारतसँगको खुला सीमाले गर्दा सुनसरीका विभिन्न स्थानमा समय–समयमा आपराधिक गतिविधि पनि हुँदै आएको छ । नेपाल–भारतबीच ६५ किलोमिटर खुला सीमा भएकोले सीमावर्ती क्षेत्रमा पर्याप्त मात्रामा सुरक्षाकर्मी तैनाथ भए पनि आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चुनौतिपूर्ण नै रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भारतबाट हातहतियार भिœयाउने, चोरीपैठारी, लागूऔषध कारोबार, मानव बेचबिखनजस्ता अनेकौं किसिमका गैरकानूनी गतिविधि हुँदै आएका छन् ।

सुनसरी देशमै सबैभन्दा बढी लागूऔषध कारोबार हुनेमध्ये दोस्रो स्थानमा पर्छ । खासगरी जिल्लाको सीमावर्ती क्षेत्रबाट लागूऔषधको कारोबार हुने गरेको छ । भारतीय बजारमा औषधिको रूपमा पाइने लागूऔषध सेवन गर्ने र नेपाल भिœयाउन खोज्नेहरू दिनहुँ प्रहरीको फन्दामा पर्दै आएका छन् । लागूऔषध प्रयोगकर्ताले समाजमा विकृति बढ्दो क्रममा रहेको सीमावर्ती क्षेत्रका सर्वसाधारण बताउँछन् । लागूऔषध विरुद्ध वडामा अभियान चलाउँदै आएको बताउँदै कोशी गाउँपालिका वडानम्बर ५ का अध्यक्ष साह जमालले अशिक्षाका कारण नियन्त्रणमा चुनौती रहेको बताए ।

विगतमा खुला सीमाको फाइदा उठाएर गैरकानूनी क्रियाकलाप हुँदै आए पनि प्रहरीले निगरानी बढाएपछि केही कमी आएको जमाल बताउँछन् । शुक्रबार कोशी गाउँपालिका वडानम्बर ५ को कार्यालयद्वारा आयोजित दशैं, तिहार, छठपर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै वडाध्यक्ष जमालले हातहतियार, लागूऔषध, चोरीपैठारी नियन्त्रण गर्न सर्वसाधारणले समेत आफ्नोतर्फबाट सहयोग गर्दै आएको बताए । सर्वसाधारणले प्रहरीलाई सहयोग गर्दै आए पनि कोशीपीडित क्षेत्रका जनताको समस्या प्रहरीले बुझ्न आवश्यक रहेकोे उनले बताए ।

२०६५ साल भदौ २ गते आएको बाढीबाट श्रीपुर क्षेत्रका जनता अझै पूर्णरूपमा पूर्व अवस्थामा फर्किन नसकेको बताउँदै अध्यक्ष जमालले खेतीपाती नहुँदा गरिब जनताले जीविकोपार्जनको लागि सीमा क्षेत्रमा व्यापार गर्दै आएको बताए । तर प्रहरीले गुजारा चलाउन सानोतिनो व्यापार गर्ने गरिब जनतालाई मात्र दुःख दिने काम गरेको गुनासो गर्दै जमालले त्यसो नगर्न सुनसरी प्रहरीलाई आग्रह गरे । राजस्व असुली गर्ने दायित्व सीमावर्ती क्षेत्रमा तैनाथ प्रहरीको भए पनि एकछाक टार्ने उद्देश्यले व्यापार गर्नेलाई मानवताका हिसाबले भए पनि छुट हुनुपर्नेमा वडाध्यक्ष साह जमालको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले नेपाल प्रहरी कसैलाई दुःख दिने नभई जनतासँग घुलमिल भएर काम गर्दै आएको बताए । जनताको सहयोग बिना प्रहरीले केही गर्न नसक्ने हुँदा अपराध नियन्त्रणमा सहयोग गर्न जनप्रतिनिधि तथा सर्वसाधारणलाई उनले आग्रह गरे । समाजमा भएका विकृति विसङ्गति अन्त्य गर्न नेपाल प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै आएको पोखरेलले बताए । प्रहरीले मात्र लागेर सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न नसकिने हुँदा सुनसरी प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा मजबुत बनाई राख्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

सुनसरी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमार्फत् प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, समाजमा प्रभावकारी सुरक्षा समन्वय, फरार अपराधी पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदान–प्रदानजस्ता कार्यमा केन्द्रित रहेको छ । उक्त कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल बिओपी श्रीपुरका इन्स्पेक्टर देवेन्द्रप्रसाद मैनाली, सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्ट, इलाका प्रहरी कार्यालय लौकहीका सइ शिवकुमार शर्मा, वडासदस्य कमलेश्वरी यादव, नौसाद आलमसहितले सबैको साझा पहलबाट नै अपराध नियन्त्रण हुने भएको हुँदा सहकार्य अपरिहार्य भएको बताएका थिए ।