धरान/ मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच) भवन निर्माण नभएसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक बढ्दो बिरामीको चाप व्यवस्थापन गर्न नसकिने भएको छ । प्रतिष्ठानमा हुने बिरामीको चाप व्यवस्थापन र तत्काल ल्याव रिपोर्ट उपलब्ध गराउन अनेक प्रयास भए पनि असफल हुँदै आएको छ ।

पूर्वको रिफरल सेण्टरको रूपमा विकसित भएको प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । तर अत्यधिक चापलाई प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले भने, ‘प्रतिष्ठानमा बिरामीको चाप नियन्त्रण गर्न तत्काल नसकिने भएको छ । एमसिएच भवन निर्माण सम्पन्न हुनासाथ बिरामीको चाप स्वतः घट्छ । साथै ४० शøया क्षमताको इमर्जेन्सी कक्ष पनि विस्तार हुँदै गरेकोले त्यसबाट पनि भीड घट्छ ।’

इमर्जेन्सी कक्ष विस्तार भइरहे पनि एमसिएच भवन भने २५ प्रतिशतमात्र निर्माण भएको छ । दुई वर्षदेखि निर्माण कार्य रोकिएको उक्त भवनमा आमा र बच्चाको उपचारका लागि ४ शøय रहने बताइएको थियो । तर तत्कालीन उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले सिनेटमा अनुमोदन नै नगरी ७० करोड रुपैयाँलागतको एमसिएच भवनलाई २ अर्ब ५० करोड रुपैयाँमा रसुवा कम्पनीलाई निर्माण गर्न ठेक्का दिएपछि विवादमा तानिएको थियो । भ्रष्टाचार भएको ठहर गरी छानबिन गर्नुपर्ने भएपछि ठेकेदार कम्पनीले समेत रकम नपाएको र सरकारले पनि रकम निकासा नगरेपछि हाल एमसिएच भवन निर्माण ठप्प भएको छ ।

यसैगरी प्रतिष्ठानमा हाल मुटुरोगको उपचार गर्ने क्याथल्याव उपकरण पनि बिग्रिएकोले मर्मत सम्भार गर्न बिक्रेता कम्पनीसँग मर्मत सम्भार सम्झौता (सिएमसी) गर्ने तयारी भइरहेको डा. खनालले बताए । सिएमसी गर्दा प्रतिष्ठानले वार्षिक रूपमा निर्माता कम्पनीका प्राविधिकलाई तोकिएको रकम उपलब्ध गराउनु पर्छ । तीन वर्षअघि कार्डियो क्याथल्याव जडान गरिए पनि सिएमसी नगरिएकाले दुई महिनायता क्याथल्याव बनाउन सकिएको छैन । क्याथल्याव बिग्रिएपछि प्रतिष्ठानमा मुटुरोगको उपचार गर्नुपर्ने बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ ।

प्रतिष्ठानकै इमर्जेन्सीमा रहेको सातवर्ष पुरानो दुई स्लाइसको सिटी स्क्यान मेसिन बिग्रिएको महिनौं बितेको छ । प्रतिष्ठानमा उक्त उपकरण प्राइभेट पब्लिक पार्टनरसिपमा जडान गरिएको थियो । सोही नीतिअनुसार नै दशैं–तिहारको बीचमा नयाँ सिटीस्क्यान जडान गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । फार्मेसी असफल भएको बारेमा भने आर्थिकसम्बन्धी ऐन र खरिद नियमावली बाधक भएको अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले बताए ।

सरकारले बिरामीलाई सुलभ, सहज र सस्तोमा औषधि उपलब्ध गराउन भन्दै आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि प्रतिष्ठानले एक वर्षअघि फार्मेसी सञ्चालनमा ल्याएको थियो । तर औषधि खरिद प्रक्रिया झण्झटिलो भएकाले प्रतिष्ठानको फार्मेसी बन्द भएको छ ।

फार्मेसी बन्द हुँदा सर्वसाधारण बिरामीले बाहिरको महँगो फार्मेसीबाट औषधि खरिद गर्न बाध्य छन् । प्रतिष्ठानले खरिद ऐन र नियमावलीमा औषधि खरिदको सन्दर्भमा ‘लचकता’ नभएकाले समस्या भएको जनाएको छ । बिरामीलाई तत्काल औषधि चाहिन्छ तर तिनै औषधि खरिद प्रक्रिया पूरा गर्न खरिद ऐन नियमावलीअनुसार तीन महिना लाग्ने भएकाले प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालन गर्न नसकेको अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले बताए ।

प्रतिष्ठानले फार्मेसी सञ्चालनका लागि फार्मासिस्ट डा. कादिरलाई जिम्मा दिए पनि असफल भएपछि डा. कादिरले असफल हुनका कारण खुलाउँदै प्रतिष्ठान व्यवस्थापनपक्षलाई लिखित पत्र नै दिएका छन् । फार्मेसी व्यवस्थितरूपमा सञ्चालन भएमा निकट भविष्यमा हरेक वार्डमा रहेका बिरामीलाई औषधि उपलब्ध गराउने योजना रहेको प्रतिष्ठानले जनाएको थियो ।