इटहरी । एक पूर्व नेपाली सेनाले आफ्नो र श्रीमतीको समेत दुईवटा नागरिकता लिएको खुलासा भएको छ । फरक–फरक मिति र नागरिकता नम्बरसहित श्रीमान्–श्रीमतीले नै नागरिकता लिएको खुलासा भएको हो ।

तनहुँ घर भई खनार बसाइ सरी आएका दुर्गाबहादुर खत्री र दुर्गाबहादुर अधिकारीको नाममा फरक जन्ममितिसहितको नागरिकता इटहरी वडानम्बर १० ले फेला पारेको हो । छोरीको जन्मदर्ता लिन आउँदा श्रीमान्–श्रीमतीकै दुई नागरिकता भेटिएको इटहरी–१० का अध्यक्ष प्रकाश चौधरीले बताए ।

छोरीको जन्मदर्ता गर्न आएका दुर्गाबहादुरले छोरीको प्रमाण जुटाउने क्रममा सोधीखोजी गर्दा श्रीमान् श्रीमतीकै २ वटा नागरिकता भेटिएको वडाध्यक्ष चौधरीले बताए ।

श्रीमान् श्रीमती दुवैको दुईवटा नागरिकता भेटिए पछि आफूहरू अचम्मित भएको बताए । २५ दिनअघि सिफारिस लिन आएका खत्री परिवारको सेनाको पेन्सन कार्डसहित ४ वटा नागरिकता वडा कार्यालयमा राखेपछि उनीहरू सम्पर्कविहीन भएको वडा कार्यालयले जनाएको छ ।

सूर्यबहादुरको नाममा खनारमा केही जग्गासमेत भेटिएको इटहरी वडा कार्यालयले जनाएको छ । २०३८ सालमा नागकिता बनाउँदा उनी २२ वर्षका थिए । त्यो मितिअनुसार उनी २०१६ सालको हुनुपर्ने हो तर अर्को नागरिकतामा २०२१/०९/१५ गतेमा अर्को नागरिकता निकालेको पाइएको छ ।

सूर्यबहादुरले खत्री थरबाट निकालेको नागरिकता नम्बर ६६४ हो भने अधिकारी थरबाट निकालेको नागरिकता नम्बर ७५० भएको पाइएको छ । त्यस्तै श्रीमती इन्द्रकुमारी खत्री र इन्द्रकुमारी अधिकारीको नाममा फरक–फरक नागरिकता नम्बर भएका दुईवटा नागरिकता लिएको तथ्य खुलेको छ । त्यस्तै श्रीमतीले पनि इन्द्रकुमारीको नाममा पनि ९०१ र ४३१०२५/८०६ नम्बरमा फरक फरक दुई नागरिकता निकालेको पाइएको हो ।

पेन्सन कार्डमा पनि फरक मिति
कालीप्रसाद गणमा प्युठ दर्जामा २०३८ सालमा भर्ना भएका दुर्गाबहादुर खत्रीको पेन्सन कार्ड र नागरिकतामा समेत नम्बर फरक परेको छ । पेन्सन कार्डमा २०२१/०५/२२ गते निकालेको भनिएको छ । तर नागरिकतामा भने २०२१/९/१५ गते निकालेको पाइएको छ ।

सेनाको जागिरबाट २०५५ साल पुस १० गते अवकास पाएको देखिन्छ । यता इटहरी–१० का वडासचिव किरण भट्टराईले भने फरक–फरक नाम थर नम्बरका श्रीमान्–श्रीमतीकै दुई नागरिकता भेटेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराएको बताए ।

श्रीमान् श्रीमतीकै दुई नागरिकता र छोरी जन्मेको प्रमाणसमेत स्पष्ट नखुल्दा खत्री परिवारको विषयमा प्रशासनलाई जानकारी गराएको बताए । जिल्ला प्रशासनमा यस विषयमा लिखित जानकारी गराएको भट्टराईले बताए ।