इटहरी । काङ्ग्रेसको इतिहासमा नै नयाँ शैलीको कार्यक्रमको रूपमा लिइएको जनजागरण अभियानलाई काङ्ग्रेसले आसन र भाषणमुक्त गर्ने भने पनि कार्यान्वयन भएको छैन ।

‘हिमाल, पहाड, तराई मधेस, नेपाली काङ्ग्रेस’ नारासहित ७७ वटै जिल्लामा एकसाथ एउटै समयमा अभियानको उद्घाटन भएको कार्यक्रममा कार्यकर्ताहरूको तीव्र असन्तुष्टि छ । नेपाली काङ्ग्रेस महासमिति सदस्य कोविदजङ कार्कीले केन्द्रले जुन हिसाबले जागरण अभियान चलाउने भनेको थियो, त्यो अनुसार नभएको बताए । ‘अहिले भइरहेको कार्यक्रमहरूमा आसन र भाषणमै सीमित भयो’ –कार्कीले भने ।

नेपाली काङ्ग्रेस क्षेत्रनम्बर २ का सचिव रमेश पोखरेलले केन्द्रको परिपत्र तल्लो तहसम्म नआएको बताए । जागरण अभियान प्रभावकारी हुने भए पनि कार्यकर्ता भेलामा केन्द्रीय प्रतिनिधिहरू नै धेरै बोल्ने गरेको तरुण दल सुनसरीका सह–सचिव मिलन त्रिताल बताउँछन् । कार्यकर्ताहरूको कुरा सुन्ने अभियान भए पनि नेताहरूकै कुरा कार्यकर्ताहरूले सुन्न बाध्य भएको उनले बताए ।

काङ्ग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्धमा आफ्ना नेता कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको लक्ष्य काङ्ग्रेसले लिएको नेपाली काङ्ग्रेस सुनसरी सभापति राजीव कोइराला बताउँछन् । कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी हुने लक्ष्य काङ्ग्रेसले लिएको छ ।

सुनसरी काङ्ग्रेसमा उत्साह
काङ्ग्रेसले अभियानमा सुनसरीमा भने उत्साह थपिएको नेपाली काङ्ग्रेस सुनसरीका सचिव केदार भण्डारी बताउँछन् । सुनसरीका १२ स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा काङ्ग्रेसले नेतृत्व गरेको छ । त्योसँगै नेपाली काङ्ग्रेस ४ निर्वाचन क्षेत्रमध्ये ३ वटा सङ्घीय संसद्मा जितेको कारण काङ्ग्रेसीहरू उत्साहको साथ अगाडि बढिरहेको बताए । अहिले क्रियाशील सदस्यहरूलाई जागरण बनाउने अभियानले तल्लो तहका कार्यकर्ताहरू जागेको बताए ।