उदयपुर/ उदयपुरका एक कृषकले रुद्राक्षबाट मनग्गे आम्दानि गर्न थालेका छन् । उदयपुरगढी गाउँपालिका–७ नाङ्ग्राङे निबासी ४४ वर्षीय अम्बरबहादुर केप्छाकी मगरले रुद्राक्षबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

पहिलादेखि नै भोजपुर र सङ्खुवासभा तिर व्यावसायिक खेती गर्दै आएका रुद्राक्ष पछिल्लो समयमा आएर उदयपुरको पहाडी भेगतिर निकै भित्रिएको पाइन्छ । रुद्राक्षको १४ मुखे दानाबाट १२ हजारसम्म र एउटा बोटबाट बर्सेनी एक लाखसम्म आम्दानी गर्दै आएको कृषक मगरले बताए ।

आफ्नै प्रयासमा कृषक मगरले धनकुटाबाट रुद्राक्षको बिरुवा ल्याई रोपेका थिए । रुद्राक्ष रोपेको तीन वर्षदेखि फल दिन थालेको उनले बताए । घर वरिपरि रोपेका रुद्राक्ष पाक्ने सिजनमा मान्छेले रुखबाट नै फल चोर्ने र चरा, चमेराले खानको लागि उडाएर अन्यत्र लाने गरेकाले समस्या आएको कृषक मगरले बताए ।

रुद्राक्षलाई अरू फलफूल र अन्नबालीलाई जस्तो मेहनत गर्नु नपर्ने र मल जलसमेत गर्नु नपर्ने कृषक मगरले बताए । अहिले रुद्राक्षको दाना खरिद गर्न घरमै काठमाण्डौबाट समेत रुद्र्राक्षका व्यापारीहरू आउने गरेको उनले बताए । रुद्राक्षको १४ मुखे दानालाई १२ हजारसम्म घरमै दिने गरेको उनले बताए । राम्रो दाना बोटबाटै हराउन थालेपछि गोठालो समेत राख्नुपर्ने अवस्था आएको छ । रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि घर खर्च चलाउन सहज भएको कृषक मगरले बताए । आफूले रुद्राक्षबाट राम्रो आम्दानी गर्न थालेपछि गाउँमा सबैले रुद्राक्ष धमाधम रोप्न थालेको उनले बताए ।

रुद्राक्ष चैत–वैशाख महिनामा फूल फूलेर फल लागेपछि भदौ–असोजमा पाक्ने गरेको कृषक मगरले बताए । पाकेको रुद्राक्ष गुलियो हुने भएकाले चरा र चमेराको विशेष आहारमा पर्ने गरेकाले राम्रो दाना उडाएर लाने गरेको उनले बताए । रुद्राक्षले फल दिन थालेसँगै घरमै व्यापारीहरू आएर दाना खरिद गरी लैजान थालेपछि घर खर्च र छोराछोरीको पठन पाठनमा सहज भएको कृषक मगरले बताए । राम्रो दाना किनेर लाने र व्यापारीले छोडेका दानाहरू माला उनेर बेच्दा एक सय रुपैयाँ गोटाको बिक्ने गरेको उनले बताए ।

अहिले नेपाली बजारमा रुद्राक्षको २१ मुखे दाना ८० लाखसम्ममा कारोबार हुने गरेको छ । जिल्लामा अहिलेसम्म १९ मुखे दानासम्म फलेको र ८० हजारमा कारोबार भएको रुद्राक्ष ब्यपारी दहलमान तामाङले बताए । पछिल्लो समयमा आएर कार्यक्रम, सभा, सम्मेलनमासमेत खादा मालाको साटो रुद्राक्षको माला लगाई अतिथिलाई स्वागत गर्ते चलन बढ्दै गएको पाइन्छ । अझ स्थानीय उत्पादन र अर्गानिक तथा धर्मअनुसार जनआस्था बोकेका रुद्राक्षको प्रयोगमा वृद्धि हुँदै गएको छ ।

अहिले पालिकाको मात्रै नभई जिल्लाकै पहाडी भेगका अधिकांश गाउँलेहरू रुद्राक्ष, बोधिचित्त, सिन्कौलीलगायतका विभिन्न नगदेबाली प्रति बढी आकर्षित भएको पाइन्छ । खडेरी र बाँदर आतङ्कले गाउँघरको खेतबारी बाँझिन थालेको अवस्थामा व्यावसायिक नगदेबालीप्रति कृषकहरू आकर्षित भएको पाइएको हो । सरकारले नगदेबालीको व्यवसायलाई व्यवस्थापन नर्ग सके मात्रै आत्मनिर्भर बन्न सक्षम बनाउने देखिन्छ । अहिलेको रित्तिँदो गाउँलाई यस्ता नगदेबाली व्यावसायिक गर्न सके बसाइँसराईमा कम र विदेशिने युवा वर्गलाई नियन्त्रण गर्ने एक मुख्य स्रोत बन्न सक्ने देखिन्छ ।