काठमाडौं । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५–७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।

दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४–७५ को तुलनामा आव २०७५–७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ ।

आव २०७४–७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३–७४ मा भने आव २०७४–७५ को भन्दा बढी व्यक्तिको सवारी दुर्घटना परी मृत्यु भएको थियो ।

उपत्यकामा दुर्घटना बढ्यो
काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४–७५ को तुलनामा आव २०७५–७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्या बढेको छ ।

आव २०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आव २०७५–७६ मा उक्त सङ्या बढेर २५४ पुगेको छ । आव २०७३–७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो ।

किन हुन्छ दुर्घटना ?
लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् ।

उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताए । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताउँछन् ।

– रासस 

तस्बीरः फाइल/ ब्लाष्ट