धनकुटा/ धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडामा रहेको आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले बाबुआमाले लिएको ऋण नतिरेपछि छोराको घरका सामान उठाएर नागरिकतासमेत कब्जामा लिएको पाइएको छ ।

धनकुटा नगरपालिका वडा नं.६ मा गठित खाल्डे आरम्भ महिला केन्द्रकी सदस्य मीना राई र उनका श्रीमान् हाङबहादुर राई ऋण नतिरी बेपत्ता भएपछि फाइनान्सले उनका छोरा मौसम राईको नेपाली नागरिकताको प्रमाण–पत्र एक वर्षदेखि कब्जा गरेर राखेको हो । नागरिकता फाइनान्सले लगेर नदिएपछि उनलाई आफ्दने विवाह दर्ता, छोरीको जन्मदर्ता गर्न नपाउँदा २ वर्ष ९ महिनाकी छोरी रोमियालाई विद्यालयमा भर्ना गर्नसमेत समस्या भएको छ । आफै वैदेशिक रोजगारीमा जान चाहे पनि नागरिकता नभएपछि राहदानी बनाउन नपाएको उनले ब्लाष्टसँग गुनासो गरे ।

आमाबाबुले लिएको ऋणको बदला फाइनान्सले उनको नागरिकतामात्र कब्जा गरेन, उनको कोठामा भएका टेलिभिजन, बुफर, डेकलगायतका सामग्री उठाएर लगेको मौसमले बताए । ती सामान अहिले खाल्डे आरम्भ महिला केन्द्रका प्रमुख कमलादेवी भट्टराईको घरमा राखिएको उनले बताए । फाइनान्सका म्यानेजर दीपक श्रेष्ठले आमाबाबु ऋण नतिरी फरार भएपछि ऋण असुल्न छोराको कोठाबाट समान उठाएको स्वीकार गरे ।

फाइनान्सले समूह जमानीको आधारमा बिना धितो ऋण लगानी गर्ने गरेको थियो । समूहका सदस्य मीना र हाङबहादुरले फाइनान्सबाट २०७३ कात्तिक २४ गते ७५ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएर ५ किस्ता निरन्तर बुझाए पनि अझै साँवा ३० हजार रुपैयाँ ऋण बाँकी रहेको फाइनान्सका मेनेजर श्रेष्ठले बताए । राई दम्पत्ति बेपत्ता भएपछि उनका छोरा मौसमले किस्ता बुझाउँदै आएका थिए ।

मौसमले आमाबुवा बेपत्ता भएपछि हालसम्म फाइनान्समा साँवा ४ हजार ५ सय र ब्याज ४ हजार ६ सय ४८ रुपैयाँ बुझाइसकेका थिए । ‘तर फाइनान्सले एक्कासि समूहका अन्य सदस्य ल्याएर घरको सामान उठायो र कार्यालयमा बोलाएर १ वर्ष अघिदेखि नै नागरिकता पनि कब्जामा लियो’ –उनले गुनासो गर्दै भने । फाइनान्सले नागरिकता र घरको सामान लगिदिएपछि उनको परिवार मावलीघर खाल्डेमा शरण लिएर बस्दै आएका छन् ।

अहिले मौसम मामा राजकुमार आठपहरिया र माइजू दिलकुमारी आठपहरियाको आश्रयमा बसेका छन् । मामा राजकुमारले दिदी–भेना ऋण लिएर भागेपछि भाञ्जा समस्यामा परेको बताए । उनले भने, ‘नागरिकता नै खोसिएपछि भाञ्जाले विदेश गएर कमाउँछु भन्न पनि पाएका छैनन् ।’

भाञ्जाले आमाबुबाले लिएको ऋण विस्तारै तिर्छु भन्दा पनि समूहका प्रमुख कमलादेवी भट्टराई, सदस्य गणेशकुमारी कार्की र फाइनान्सका मेनेजर आएर जबर्जस्ती सामान लगिदिएको बताए । पछि ६ हजार रुपैयाँ लिएर जाँदा पनि १० हजार चाहिन्छ भनेर नागरिकता नदिएको उनले बताए ।

यसरी वित्तीय संस्थाहरूले गाउँघरका सोझासिधा जनतालाई विभिन्न बहानामा समूह बनाएर महँगो ब्याजमा ऋण लगानी गर्ने पछिल्लो परिपाटीले समुदायका सदस्यहरूमाथि परिवारिकरूपमा ठूलो विचलन आउने गरेको पाइएको छ । यसरी नै बिनाधितो दिइने समूहको ऋणलाई नियामक निकाय स्थानीय सरकारले नियन्त्रण नगर्ने हो भने धेरैको घरबत्रत्रार बिल्लीबाठ हुने स्थानीय बताउँछन् ।

पछिल्लो समय माइक्रो फाइनान्सको ऋण तिर्न नसकेर समुदायमा कतिपय घरपरिवारका सदस्यहरूबीच पारिवारिक रूपमा श्रीमान्, श्रीमतीबीच झगडा हुने, आत्महत्या गर्ने, सम्बन्धविच्छेद गर्ने जस्ता घटनासमेत बढ्दो छ । माइक्रो फाइनान्सका मेनेजर श्रेष्ठले आफ्नो संस्थामा ८५ वटा समूहको ९ सय ५१ सदस्य सङ्ख्या र ०७६ जेठ मसान्तसम्ममा ९२ लाख ६२ हजार ६ सय १५ निक्षेप सङ्कलन, २ करोड ८७ लाख २ हजार ८ सय ९ रुपयाँ कर्जा लगानी रहेको बताएका छन् ।