धरान । गुठी विधेयकविरुद्ध लिम्बुवान प्रान्त माग्दै आएको संघीय लिम्बुवान मञ्च नेपाल पनि आन्दोलित बनेको छ ।

तर, सरकारले भने मंगलबार नै गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । मंगलबार धरानमा गुठी विधेयकका विरुद्ध मञ्च नगर समिति आन्दोलित बनेको हो । नगर समितिको कार्यालय धरान–१० धर्मपथबाट शुरु भएको ¥याली धरान नगर परिक्रमा गर्दै भानुचौकमा आई कोणसभामा परिणत भएको थियो ।


कोणसभालाई सम्बोधन गर्ने नेताहरूले सरकारले एकपछि अर्को गलत कृयाकलाप गर्दै गएको दाबी गरेका थिए । गुठी विधेयक त्यसैको एउटा परिणाम भएको नेताहरूले बताए । तर, नेपाल सरकार अन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी विधेयक फिर्ता लिएको पत्रकार सम्मेलन गरी जनाएको छ । मन्त्री पद्मा अर्यालले सरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको प्रस्ट पारिन् ।

गुठी विधेयकको विषयमा नेवाः देय दवू नगर समितिले पनि मंगलबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । नगर समितिका अध्यक्ष मनोहर शाक्यले गुठी विधेयक हचुवाको भरमा ल्याएकाले तत्काल फिर्ता लिन माग गरेको थियो । गुठी विधेयकका विरुद्धमा देशभर आन्दोलन चर्किदै आएको थियो भने सत्तारुढ दलकै नेताहरूले पनि गुठी विधेयकको खुलेर विरोध गरेका थिए । काठमाडौंमा विधेयक दर्ताभएलगत्तै आन्दोलन शुरु भएको थियो ।