धरान । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ ले उभौलीको समापनको अवसरमा शनिबार ६ जनालाई सम्मानित गरेको छ ।

उभौली पर्व साकेलाको समापनमा नगद तथा जिन्सी सहयोग गर्ने दाताहरूलाई सम्मानित गरिएको हो । सम्मानित हुनेमा राधा राई, पूर्ण राई, रामकुमार राई, देवराज राई, मनकुमारी राई र उत्तरकुमारी राई छन् । प्राकास धरान–१३ का अध्यक्ष श्रीपाल राईका अनुसार प्राकास धरान–१३ का संस्थापक कुबिरमान राईसहित संरक्षक, सल्लाहकारलगायत १० जनालाई पनि सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि किराया जिल्ला अध्यक्ष बलराम राई, निवर्तमान अध्यक्ष कमला राई, अध्यक्ष श्रीपाल राईलगायतले फेटा गुथेर सम्मानित गरे । यस्तै, किराया जिल्ला अध्यक्ष बलराम राई, निवर्तमान अध्यक्ष कमला राई र नगर अध्यक्ष लोकेन्द्र राईलाई पनि सम्मानित गरिएको थियो । समापन कार्यक्रममा बोल्दै किराया जिल्ला अध्यक्ष राईले सबै राई जाति एकजुट हुनुपर्ने बताए ।

यसैगरी, किराया जिल्ला सुनसरीकी निवर्तमान अध्यक्ष कमला राई, सचिव राजेन्द्र राई, किराया नगर अध्यक्ष लोकेन्द्र राईलगायतले पूस्तान्तरण गर्दै जानुपर्ने बताए । किराया प्राकास धरान १३ को आयोजनामा वैशाख ४ गते पूर्णिमाको दिन धरान–१४ विजयपुरस्थित हाङ बुद्धिकर्ण रायको दरबार परिसरबाट विधिवत् रूपमा साकेला शुरु भएको थियो ।

सुनसरीभरि १५ दिनसम्म प्रदेश १ को नामाकरण ‘किरात’ हुनुपर्ने माग राख्दै शिली नाचिएको थियो । समापनको अवसरमा साकेला नाचिएको थियो । प्रकृतिपूजक किरात राई जातिले उभौलीमा अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै साकेला नाच्छन् भने पाकेको अन्नबाली न्वाङ्गी चढाउन मङ्सिरमा उधौली मनाउने गरेका छन् ।