क. उठान
मेरा हातमा एउटा त्रैमासिक पत्रिका परेको छ । के पत्रिका भन्नु हातभरिको किताबै छ नि ! ‘साहित्य सौगात’ यसको नाम हो । तीन दशकअघि न्वारान गरेर छुटीअङ्क तथा ढाँटीअङ्क गर्दै भए’नि वर्षमा एउटा नयाँ संस्करण निकाल्न सफल पाका साहित्यिक पत्रकार शशिप्रसाद बजगाईं मेरैसामु हुनुहुन्छ । फूर्ति, मिजास, सरल–सरसता, हँसीपूर्णाकृतिले एउटा युवाभन्दा पनि भर्खरका लाग्ने पाका काकाले यसपाला भुङ्ग्रामा हात हाल्नुभएछ । हत्केलाका गुनासे फोका छातीतिर देखाउँदै हँसीमुखे बजगाईंले भुँग्रे थलामारीको सबै कथा सुनाउनुभयो, स्वस्थानीजस्तो आफू वाचक बनेर अलग्गै– फलाना फलानालाई सोध्नू, सपार्ने  बिगार्ने म होइन ती हुन् भनेर ।

कुरा नेपाली भाषाको हिज्जेसम्बद्ध रहेछ । ढाडेबोली नभएका हामीजस्ता राजधानीभन्दा टाढा मोफसले कित्ताका मान्छेका कुरा के कुरा ! एकमन त लाग्यो ०७० सालको कात्र्तिकदेखि चैत्रसम्म समेटेर संयुक्ताङ्क भनी प्रकाशित वर्ष ३२ पूर्णाङ्क ७६ को ‘साहित्य सौगात’ को यही अङ्कका बारेमा  चाहिँ किन बोल्नुपर्ने  अरूहरूले ? चुप्प लाग्ने, रमिता हेर्ने, सुन्ने, कुर्ने –आफ्नू धारणा जो छ छ । फूर्तिला बजगाइँ बालाई नसकिने नै रहेछ । सातदिन पछि फेरि टुप्लुक्क अर्को सौगात थमाउँदै कापी कलमसमेत बोकाएर भन्नुभयो –यथामति तथा कुरु, अनि ता लाग्यो केही नलेखी धरै भएन गुरु ! तब, आवरणको लामु पुच्छरे कोइलीको टाउको हेरेँ, रङ हेरेँ काया छोप्ने प्वाँख हेरेँ– ठयाक्कै काग देखेँ । नेपाली भाषा विशेषाङ्ककै छेउमा हाँगे कुर्सीको त्यो चरोको पुच्छर थिचेर भित्र पसेँ । जे देखेँ लेखेँ, जे लाग्यो । आफ्नू छुट्टै नेकशुले नभएको मजस्तो पुच्छरेले पुरानो बाटो, नयाँ बाटो, सजिलो, मलिलो, कलिलो, संस्कृत, असंस्कृत –केही भन्न कहाँ पाउँछ र गाउँवस्तीबाट । भाषाका छोटे बडे राजा महाराजाहरू डुक्रने पशुपतिको राज्य –केन्द्रले सदर गरिल्याएको लेखी(पथको जयगान गर्दा र नगर्दा पनि कोही मुख बिगार्छन् भने यत्ति भन्छु कि –अलिनो खाऊ कि नूनको डल्लो फोर !

ख. बाजेपुस्ताको सौगात नातिपुस्तालाई आघात !
झन्डै एकदर्जन अन्तर्वार्ता र साढे तीनदर्जन लेख–रचनाका साथ केही कविताका फूलहरू सहित बजगाईं गुरुका पौरोहित्यमा हामीलाई प्राप्त ‘साहित्य सौगात’को यो अवतार धेरै अर्थमा समीक्षायोग्य बनेको छ । भाषाको संविधान व्याकरण नै हो । लोकतान्त्रिक राष्ट्रको मूल कानुनजस्तो जनमत लिएर भाषाको अनुशासन–शास्त्र तयार गरिन्न । तर, यसका सरोकारवालाहरूको विशिष्ट योगदान अवश्य रहन्छ, प्रचलनको व्याकरणिक संरचनागत व्यवस्थामा सुधार–बिगार, लछारपछार पार्ने कार्यमा । भाषाको वकितम् अलग्गै रूप हो भने हाम्रो चर्चाको सन्दर्भ लिखितम् रूपसँग सम्बद्ध छ । भाषाको यस्तो प्रयोग यथार्थमा समयानुकूल परिमार्जन गर्नु स्वाभाविकै हो, तर परिमार्जन र सरलीकरणका नाममा सरकारी, विश्वविद्यालयगत, विद्यालयगत, स्रष्टागत रूपमा भिन्नभिन्न स्वरूपको भाषिक प्रयोगको पसल थापेर आजको नवीन फेसबुके पुस्तालाई अलमल्लमा पार्ने, निराश पार्ने कार्य चाहिँ सर्वथा आलोच्य नै भएको छ ।

बूढा गुरुहरू धेरै जान्दछन् उनीहरू दशरथ र कौशल्याबाट मात्र नभएर ‘रमु क्रीडायाम्’ बाट पनि ‘राम’ जन्मिएको प्रमाणित गर्छन् । तिनको ज्ञानको भकारीमा व्युत्पत्तिको विशाल खजाना छ । संस्कृतकी छोरी–नातिनी भएकैले नेपाली भाषामा बाबु बाजेको डी.एन.ए को प्रमाण छँदैछ । ढाँट्ने र छल्नेहरू कि नजान्ने नै हुन् कि त कपटी स्वभावका हुन्, जसले नेपाली भाषालाई भुइँफुट्टा देख्छ । जहाँसम्म वर्णविन्यासको कुरो छ, सरल र सुबोध बाटोमा हिँड्न चाहने आजको नाति–पुस्तालाई उहिलेको आधार देखाउँदै ‘विभक्ति’ होइन ‘निपात’, जोड्ने होइन फाल्ने, अब ले, लाई नपाल्ने –भन्दा फूल र फुल दुबैलाई ‘फुल’ बनाएर सबैलाई मूर्ख बनाएकै जस्तो  अनुभूति हुने  प्रवृत्तिको आशङ्का जाग्नु स्वाभाविक लागेको छ । मेरो निवेदन के मात्र हो भने पोखरा, ललितपुर, कीर्तिपुर, सानोठिमी, विराटनगर, भद्रपुर जहाँबाट प्रस्तावित भए पनि विद्वान्हरूका सनक, लहड र भद्र–आग्रहकै भरमा भाषाको परम्परागत प्रारूपलाई अस्थिर रूपमा परिवर्तन गरिरहँदा नेपाली भाषाका दोस्रो र तेस्रो तहका प्रयोगकर्ताहरू त निराश, उदास हुने नै भए अझ नयाँ पुस्तामा अविश्वास, दिग्दारी र जसो लेख्दा पनि हुँदोरहेछ भन्ने भावना जाग्ने भय रहन्छ ।

शहर–सहर, शहीद–सहीद–सहिद –जस्ता तमाम शब्दमा रन्थनिएको नेपालीभाषी किशोर–पुस्ता अब ‘राम ले, म लाई, तिमी हरू, इनी हरू, एसो भन्दा, एस बाट –जस्ता भाषिक प्रयोग देखेर सर्पबाट तर्सिएजस्तो गर्छ भने विभाषीहरूको नेपाली लेखनबोध कस्तो होला ! हाम्रो उद्देश्य नेपाली भाषालाई सजिलो, रसिलो, सुबोध बनाउने हो भन्दा भन्दै –नेपाली भाषाले जातजातिका भाषा खायो, अङ्ग्रेजी र संस्कृतजस्तै जातिका भाषामारक नेपाली भाषा नै हो भन्ने मुखलाई जवाफ दिन ता अझ एकताबद्ध प्रयोक्ताहरू, एकीकृत प्रयोग र सुगठित स्वरूपमा जोड आवश्यक छैन र ?

मेरो आशय के मात्र हो भने बुद्धिविलास विद्वान्हरूकै कर्म हो । मेरा तर्क ठीक छन् भन्ने पनि तर्क नै हो । सामाजिक परिवेश हाम्रो वैयक्तिक परितोषमा रमाउने प्रकृतिको छैन भन्दैमा गुरुहरूका सबै कुरा गयल भन्नु पनि हामी अबुझ हुनुको लक्षण बन्ला । तर, के चाहिँ सत्ते हो भने नेपाली भाषाको लेखनमार्गलाई बारम्बार तारबार, काँडेबार लाएर, काउछो छरेर आफ्नो बस्तीतिर घुमाउँदा घुमाउँदै हराउने, जङ्लामुलुकतिर लगाउने, नयाँखाले बटुवाहरूलाई हिँड्नै नसक्ने पारेर नाकै ठोकिनेजस्तो असजिलो बनाउने काम धेरैपटक हुँदै आएकाले यो पक्ष निक्कै संवेदनशील बनेको छ । हाम्रो साहित्य, पत्रकारिता, कला, संस्कृति तथा समग्र जीवनशैली यस भाषाको स्वरूपसँग गाँसिएको यथार्थ मैलेभन्दा मेरा पाका गुरुजनहरूले बढी नै बुझेको हुनुपर्छ भन्ने विश्वासले मलाई के भन्ने आँट आउँछ भने यहाँहरूले नेपाली भाषालाई गरेको माया र लगानीले उचित सम्मान पाउनुपर्नेमा झन आलोचना र झर्कोफर्को मात्र सुन्नुपर्नाको खास कारणको पनि खोजी आवश्यक छ, जसको प्रमुख आधार आजको ‘हल्का...’ –प्रवृत्तिको नयाँ पुस्ता नै हो । 

ग. सुन्ने हो तिनका तर्क ?
मैले मुकुन्द गुरुका आदर्श प्रयोगलाई विकासे संस्थाहरूकै तालमा ‘स्याम्पल टेस्ट’ गर्ने विचार गरेँ । आफ्नू धारणा नखोली तिनलाई बताएँ –विभक्ति नजोड्ने, यसो, यिनी, यसमा –जस्ता शब्दलाई एसो, इनी, एसमा, लेख्ने भन्नेजस्ता प्रयोगबारे कुरा बोलौं । स्नातक तह र स्नातकोत्तर तहका युवाहरूको त आयो आयो,  छ कक्षादेखि ११ कक्षासम्मका नानीहरूको पनि आयो तर्क उट्पट्याङ बनेर –इनीलाई ‘अिनी’,  उनीलाई ‘अुनी’, एसरीलाई ‘अ‍ेसरी’, ऐनालाई ‘अ‍ैना’, ईश्वरलाई ‘अीश्वर’ लेख्दा चाहिँ हुन्न र सर ? श्रीकृष्ण गोविन्द!  म चूपो लागेँ ।

हामीले के कोट्याएको ? नेपाली भाषाभन्दा बढी अन्यत्रै मोडिँदै गएको पुस्तालाई हाम्रो गम्भीर शास्त्रीय तर्कले कसरी छोएछ हँ ? मुकुन्द गुरु! आदर्शपूर्ण जीवन–साधनामाथि नयाँ आलाकाँचा आँखाको धारणा नै देखिएन नि! पढ्ने र पढाउने, लेख्ने र लेखाउने वर्गमा नै अन्यौल छाउँछ भने तपाईँ र तपाईँका अनुयायीहरूको वर्षौंको अभ्यास यसपटक ‘साहित्य सौगात’ मार्फत् जो सर्वत्र व्याप्त भएको छ –राम्रै पण्डित्य बनेछ लाग्यो । भद्रपुरे चुमरे गुरुका हुन् वा धराने झिसमिसे पत्रिकाका पुराना कुन्तामूली प्रयोग हुन् –ती पनि त छन् । अहिले ‘नेकशुले’को समय भएकोले अस्थिरताकै कारण अनावश्यक मानिएका भए पनि कतिपय कुराले बजार पाएका पनि छन् । हाम्रो कुरा स्पष्ट छ –देऊ त्यस्तो बाटो जहाँबाट पुग्ने ठाउँसम्म सोझै पुग्न सकियोस् । तिम्रा शास्त्रका अप्ठयारा सूत्र र व्युत्पन्नकलाको तिम्रो कौशलको होइन, नेपाली जिब्रो र कलमको सरल परम्पराको छाप नयाँ मान्छेहरूमा राम्रै परेको रहेछ ।

घ. बिसौनीको बेला 
म ‘साहित्य सौगात’भित्र पस्नै खोजिन । यसभित्र निक्कै महत्त्वपूर्ण प्रयोग–विचार, अवधारणा र सिद्धान्त–चर्चाहरू छन् र तिनकै बारेमा पक्कै पनि थुप्रै आलेखहरू सङ्गृहीत हुनेछन् पुनः । मेरो आशय पुरानो पुस्ताका सबै कुरा आलोचना गर्नुपर्छ भन्ने होइन र तिनको कुरो शतप्रतिशत स्वीकार गर्नैपर्छ भन्ने पनि होइन । अबको समय परिवर्तन, परिष्कार र संक्षिप्तीकरणकै हो, तर यी सबै कार्यको निम्ति व्यक्ति र वर्गको आग्रह र प्रयोगभन्दा बढी समग्र भाषाको पूर्वप्रयोग, सनातन अभ्यास, प्रयोक्ताको प्रवृत्तिजस्ता कुरा बुझेर आवश्यकता अनुकूल क्रमशः गर्नुपर्छ । जहाँसम्म ‘साहित्य सौगात’ पत्रिकाले उठाएको नेपाली भाषाको वर्णविन्याससम्बद्ध प्रयोगको सन्दर्भ छ, मलाई यस्तो प्रयोगले सङ्कीर्णताको गर्तमा फस्दै गएको आजको पुस्तालाई कुनै तर्कपूर्ण प्रभाव र आकर्षण दिन्छ भन्ने लाग्दैन ।

भाषा प्रयोगबाट व्यापक हुँदै जाने हो । सरकारी मन्त्रीले आदेशको शैलीमा ह्रस्व–दीर्घको नियमको सर्कुलर शिक्षालयहरूमा थोपर्ने परम्परा हुर्कंदै छ हाम्रो मुलुकमा । यसैगरी परम्परालाई बिथोलेर कीर्तिपुर, कमलादी, सानोठिमी, ललितपुर आदि ठाउँबाट शासकीय प्रभावमा विभिन्न केन्द्रका आडमा नेपाली भाषाको सुप्रयोगका नाममा विताब–बेचुवा प्रवृत्तिले पशुहाटमा जस्तो दलालीचाला देखिने गरी दश जोड दुई हुँदै भिœयाइएको वर्णविन्यासको गति छ, त्यसकै सेरोफेरोमा अरू तमासाहरू देखिन थालेका छन् । 

यस सन्दर्भमा पोखरेली गुरुको आभ्यास चाहिँ आदर्श साधनामा केन्द्रित छ । गुरुको दीर्घ साधनाको सम्मान गर्दै वहाँबाट प्रस्तावित वर्णविन्यासको प्रयोगको प्रस्ताव छलफमा ल्याएर ‘साहित्य सौगात’ले राम्रो काम गरेको छ । यति भएरै पनि कुनै पत्रिका–विशेषले कुनै पनि सैद्धान्तिक वा व्यावहारिक  प्रयोगको सन्दर्भलाई आफ्नू विशेष अङ्कमा चर्चा गर्नु उत्तम हो, तर बजगाईं बाले त सम्पादकीय तथा अन्य अङ्ग–उपाङ्गसहित सिङ्गै पत्रिकाको अवतार नै त्यही चर्चा सन्दर्भ प्रयोगमा फेरिदिनुभएको देख्दा चाहिँ ‘साहित्य सौगात’को तीन दशक पुरानो स्वकीय भाषिक प्रयोगको परम्परित मानकबारे जिज्ञासा नपलाएको पनि हैन ।

नेपाली भाषाका यो युगकै सर्वथा आदरणीय विद्वान् व्यक्तित्वहरूका अवधारणा जो यसभित्र व्यक्तिएका छन्, तिनका बारे मेरो विशेष टिप्पणी नभएकैले मैले म अर्थात् आजको तेस्रो नातिपुस्ताको चिन्तालाई जाहेर सम्म गरेको हुँ । आखिर जे हुँदैछ त्यो त वहाँहरूकै धारणाको अनुकलन हो र जेजे हुँदै जानेछ, त्यो पनि वहाँहरूकै छाया र मायाले प्रेरित हुनेछ । तर, गुरुहरू! यत्ति चाहिँ ख्याल गरिदिनुहोला अबको पुस्ता तपाईंले जे जे भन्नुहुन्छ लुरुलुरु मान्नेवाला छैन । मैले यस आलेखमा उल्लेख गरेका कुरा नेपाली भाषा पढीलेखी गर्ने तपाईंहरूकै नाति–पनाति वा नातिनी–पनातिनीको आवाज हो भन्ने चाहिँ सम्झिदिनु होला ।
[email protected]