बेलबारी । धनकुटाको राजारानीमा जारी अग्नि–बसुन्धरा स्मृति नवौं टुर्वोग रारा गोल्डकपको उपाधि होडमा मोरङको सगरमाथा युथ क्लब पुगेको छ ।

आयोजक रारा फुटबल क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सगरमाथा उपाधि नजिक पुगेको हो । सगरमाथाबाट शुसिल राई, अभिषेक लिम्बू, मनोज राई, भुवन बस्नेत, तीर्थ बस्नेत, बिरेन लिम्बूले गोल गरे । रोशन भुजेलले प्रहार आयोजकका गोलरक्षकले बचाउ गरे ।

त्यसैगरी रारा क्लबबाट बुद्ध चेम्जोङ, एञ्जल गुरूङ, प्रवेश दनुवार, विजय धिमाल, दिलेन लोक्तामले गोल गर्दा योगेश गुरूङ र सुमिन मैनालीको प्रहारलाई विपक्षी गोलरक्षकले बिफल तुल्याए ।

खेलको म्यान अफ दी म्याच सगरमाथाका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भए । उनलाई चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले पुरस्कार वितरण गरे । मंगलबारको सेमिफाइनल खेल दाफिन्स क्लब, क्यामरुन र चर्च ब्वाइज क्लब काठमाडौंबीच खेल हुँदै छ ।