इटहरी/  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले देशलाई अघि बढाउनका लागि अब हरेकले नयाँ मनस्थिति बनाउन सक्नुपर्ने बताए । उनले पुरानो सोचाइबाट मुलुक बनाउन नसकिने बताए । ‘अब यो देशलाई मिलेर सजाउने सबैको दायित्व हो, देश सजाउने कोही राजा महाराजा छैनन् ।’
 
उनले संविधान र सङ्घीयताको मर्म, भावना र स्प्रिड अनुसार काम गर्न सबै सङ्गठित भएमा मात्र देशलाई चाहेअनुसार सजाउन सकिने दोहो¥याए । मुस्लिम समुदायको हकअधिकारको ग्यारेन्टी संविधानले नै गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । सुनसरीको इटहरीमा मुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन र सशक्तिकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले मुस्लिम समुदायको अधिकारका लागि संविधानले नै सुरक्षित गरिदिएको बताए ।
 
संविधानमै उल्लेख गरेको कुराको कार्यान्वयनका लागि आफू र आफ्नो प्रदेश लागिपर्ने मुख्यमन्त्री राईले बताए । कार्यक्रममा प्रदेश १ का कानून मन्त्री हिक्मत कार्कीले मुस्लिम समुदायले आफ्नो हकअधिकारको बारे गरिने अन्तरक्रियाले पनि समुदायको विकास हुने बताए । सबैलाई समानअधिकार नेपालको संविधानले प्रदान गरेको हुँदा कसैलाई पनि भेदभाव नहुने र त्यसको लागि आफ्नो पक्षबाट पहल रहने बताए ।
 
मुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन र सशक्तिकरणसम्बन्धी मुस्लिम आयोगको आयोजनामा सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिब ५ प्रतिशत हिस्सा ओगटेको मस्लिम समुदायको विकास र विस्तारको सवालमा सरोकारवालाहरूसँग जवाफ माग्ने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 
 
मुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन र सशक्तिकरणसम्बन्धी इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको कुल जनसङ्ख्याको ५ प्रतिशतमात्र रहेको मुस्लिम समुदायको ईदगा, कब्रस्थान र तिलावत मुख्य समस्याको रूपमा रहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका थिए । विगतमा काठमाडौंको रत्नपार्क र सुनसरी जिल्लाका केही क्षेत्रमा मुस्लिम समुदायका अगुवाहरूको दिनदहाडै हत्या भएकोप्रति दुःख व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता प्रकारका घटनालाई गम्भीररूपमा लिन वक्ताहरूले मुस्लिम आयोगलाई सुझाएका थिए ।
 
नेपालका ७७ वटै जिल्लामा मुस्लिम समुदायको बसोबास रहेको भए पनि मुस्लिम समुदायको पठन–पाठन गर्ने स्कुल मदरसा जीर्ण अवस्थामा रहेको जनाइएको छ । विकासको मुख्य पाटो शिक्षा भनिए तापनि सरकारले मदरसालाई अनुदानको रूपमा मात्र बजेट विनियोजन गरेकोप्रति मुस्लिम समुदायको गुनासो रहेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले बोलेका थिए ।