धनकुटा/ परम्परादेखि नै निजी नम्बरी जग्गाहरूमा उत्तिस, सल्लालगायत डालेघाँस प्रजातिका रुखहरू रोप्ने अभ्यास भइआएको धनकुटा जिल्लाका गाउँ–गाउँमा यातायात सुविधा पुगेसँगै वन पैदावरको अत्यधिक माग र मूल्यले निजी वन लगाउनेको सङ्ख्या बढेको देखिन्छ । 
 
जिल्लामा विगत केही वर्षयता व्यवसायिक र परम्परागतरूपमा पाइने उत्तिस, चिलाउने मात्र नभई आधुनिक प्रजातिका देशीविदेशी विभिन्न रुखहरू रोप्ने क्रम भने बढेको पाइन्छ । जिल्ला वन कार्यालय धनकुटाले निजी वन लगाउन प्रोत्साहन गर्न वर्षेनी विभिन्न प्रजातिका बिरुवा निःशुल्क बाँड्दै आएको छ । 
 
यसै क्रममा निजी वनको नमूनाको रूपमा पाख्रीबास नगरपालिका–१ सान्नेमा रहेको छिन्ताङदेवी कृषि फार्म प्रालिलाई लिन सकिन्छ । पछिल्लो समय निजी वनतर्फ सर्वसाधारणको चासो बढ्दै गएको अवस्थामा उक्त वन उदाहरणीय बन्दैछ । एक सय रोपनी क्षेत्रफलमा दर्जनौं प्रजातिका सयौं वनस्पति रहेको उक्त वन जिल्लाकै नमूना बनेको छ । निजी वनमा जिल्लाकै उत्कृष्ट कहलाएको वनले नियाल्ने जोकोहीलाई आकर्षित गर्दछ । वर्षौं पहिले आफैले बिक्री गरेको जग्गा पुनः खरिद गरेर निजी वनको शुरुवात गरेको कृषि फार्म प्रालिका सञ्चालक नवीन दाहालले बताए । 
 
साढे तीन वर्षपहिले शुरु गरेको वन व्यवस्थापन छोटो अवधिमै रहरलाग्दो अवस्थामा छ । १ सय रोपनी क्षेत्रफलमा रहेको वनमा रुद्राक्ष, पाउलियनिया, मलेसियन सखुवा, अष्ट्रेलियन टिकका रुख रहेको सञ्चालक दाहालले जानकारी दिए । यसैगरी साढे २० हजार कफीको बिरुवा लगाइएको छ । सयौं बोट मलेसियन सखुवा, टिक र २५ हजार पाउलिनिया, ५ सय रुद्राक्ष सो वनमा रहेका छन् । उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्र बनाउन स्थानीयले जोड दिँदै आएका छन् । निजी वनबाटै स्थानीयलाई समेत कफीको बिरुवा वितरण गरिँदै आएको छ । हालसम्म १ करोड रुपैयाँ लगानी रहेको अर्का सञ्चालक तिलक कार्कीले जानकारी दिए । निजी वनका लागि राज्यबाट सहुलियत दरमा कृषि ऋण पाउन नसकेको उनले गुनासो गरेका छन् । यसरी हेर्दा स्वदेशीभन्दा विदेशी प्रजातिका बिरुवामा स्थानीयको आकर्षण बढेको देखिन्छ ।  
 
जिल्लामा पछिल्लो समय निजी वनमा सर्वसाधारणको आकर्षण बढ्दै गएको डिभिजन वन कार्यालय धनकुटाले जनाएको छ । हालसम्म ६२ वटा निजी वन  (८७.९१ हेक्टर) रहेको डिभिजन वन अधिकृत रामचन्द्र कडेलले जानकारी दिएका छन् । निजी वनमा सर्वसाधारणको उल्लेख्य आकर्षण बढेका कारण कार्यालयबाट हरेक वर्ष ६० हजार भन्दा माथि विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर वितरण गर्दै आएको उनले बताए । निजीस्तरमा लगाइने वन धनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले हरेक वर्ष प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । 
 
सो कार्यक्रम अन्तर्गत आ.व.०७४/०७५ मा पाख्रीबास नगरपालिका वडा नं. १ सान्नेका नवीन दाहाल प्रथम, साँगुरीगढी गाउँपालिका वडा नं. ८ महाभारतका कमलराज राई द्वितीय र पाख्रीबास नगरपालिका वडा नं. १० चुङ्वाङका रामबहादुर दर्जीलाई तृतीय पुरस्कारस्वरूप जनही क्रमशः ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाण–पत्र प्रदान गरिएको प्रमुख रामचन्द्र कडेलले बताए । उनले चालू आ.व.मा पनि निजी वन दर्ता गर्न आवश्यक प्राविधिक सहयोगको रूपमा निजी वनको नाप नक्सा, रुख बिरुवाको नापजाँच गरी लगत, सर्जमिन मुचुल्का तथा अन्य कागजात तयार गर्न सहजीकरण गर्ने कार्यक्रम रहेको बताएका छन् ।