भोजपुर/जिल्लाको पश्चिमी टेम्के मैयु गाउपालिका ४ नागीमा रहेको सिंहदेवी महादेव गुफा संरक्षणमा स्थानियले चासो देखाएका छन् ।

ओझेलमा परेको गुफा संरक्षण गरे पर्यटन प्रर्वद्धन हुने भन्दै स्थानियले गुफा संरक्षणमा चासो देखाएका हुन् ।

एक सय मिटर लामो गुफाको संरक्षण गरि प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकिने स्थानिय समाज सेवी रुकेश राईले बताए ।

“उनले भने सिंहदेवी महादेव गुफा भित्र पसेर अवलोकन गर्न टर्च लाईट लिएर सय मिटर भित्र पस्नु पर्छ , गुफा भित्र देवताका मुर्ति रहेका छन यहा पुजापाठ तथा अवलोकन गर्ने धार्मिक पर्यटकका लागी भारतको हरिद्धार र खोटाङको हलेशी जस्तै अनुभुती हुन्छ” ।

समाज सेवी राईका अनुसार यस अघि स्थानिय अगुवाले चासो नदिदा गुफा ओझेलमा परेको थियो । ओझेलमा परेको गुफा संरक्षणमा स्थानियले चासो देखाए पछि अन्नपुर्ण रणदिपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीले शैक्षिक भ्रमण गरि गुफाको अवलोकन गरेका छन् ।

४० जनाको शैक्षिक भ्रमण टोलीलाई स्थानिय समाज सेवी रुकेश राई , यादव राई र नारद राईले सहजिकरण गरि गुफाको अवलोकन गराएको विद्यालयका प्रधानाध्यापक डम्बर राईले बताए ।

मुन्दुम पदमार्ग नजिकै रहेको प्राकृतिक सौन्दर्यले भरिपुर्ण महावीर झरनासँगै रहेको गुफाको संरक्षण तथा प्रचार प्रसार गर्न सके पर्यटकको घुईचो लाग्ने प्रधानाध्यापक राईले दाबी गरे ।

गुफा संरक्षणका लागी प्रदेश सांसद राजेन्द्र राईले ५ लाख बजेट विनियोजन गरेका छन् । विनियोजित बजेटले गुफासम्म जाने बाटो निर्माण गरिने गुफा संरक्षण समितिका अध्यक्ष अर्जुन राईले जानकारी दिए ।

“राईले भने प्रचार प्रसार अभावमा ओझेलमा परेको गुफा संरक्षण गरि धार्मिक पर्यटकको आर्कषणको केन्द्र बनाउन प्रदेश तथा स्थानिय सरकारसँग सहयोगका लागी आग्रह गर्ने योजना छ , यसका लागी सक्रिय भएर लागी परेका छौ ,त्यसमा प्रदेश सांसद राजेन्द्र राईले चासोका साथ सहयोग गर्नु भएको छ ” ।

उनले गुफाको प्रचार प्रसारमा सहयोग गर्न समेत जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । गुफा भित्र रहेको देवताको मुर्तिमा पुजाआजा गरे आफुले चिताएको मनोकांंक्षा पुरा हुने स्थानियको जन विश्वास रहेको छ ।