धनकुटा/ धनकुटाको मूलघाटस्थित लाबरबोटेदेखि ताप्लेजुङ जिल्लाको फुङ्लिङ बजार हुँदै चीनको सिमानामा रहेको ओलाङ्चुङगोलासम्मको तमोर करिडोर सडक निर्माण कार्य धामाधम भैरहेको छ ।
 
धनकुटाको मूलघाटदेखि २०६६ सालबाट शुुरु गरिएको तमोर करिडोर अन्तर्गतको ट्रयाक निर्माण कार्य धमाधम भैरहेकोे बताइएको छ । तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गलाई जोड्न करिब २५ किलोमिटर मात्र बाँकी रहेको छ भने ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङ्चुङगोलालाई जोड्न करिब ३० किलोमिटर मात्र रहेको ताप्लेजुङ ओलाङ्चुङगोला सडक आयोजना ताप्लेजुङका प्रमुख कुवेर नेपालीले जानकारी दिएका छन् ।
 
धनकुटाको साँगुरीगढी गाउँपालिका–२ मूलघाटस्थित लाबरबोटेदेखि शुरु भई पाँचथरको लुम्बुघाट–माझीटार–ताप्लेजुङको फुङ्लिङ बजार नजिकैको धुलेदोभान हुँदै ओलाङ्चुङगोलासम्मको सडकको लागि ट्रयाक खोल्ने कार्य अहिले पनि जारी छ । तमोर करिडोर सडकलाई ब्लक–ब्लक छुट्याएर धनकुटा, पाँचथर, ताप्लेजुङ तीनै जिल्लाबाट टेण्डर प्रक्रियामार्फत् काम अगाडि बढाइएको छ । जसले गर्दा काम छिटो सक्न सहज हुने बताइएको छ ।
 
धनकुटाको मूलघाट लाबरबोटेदेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ धनकुटाका पूर्व सभासद् हेमराज भण्डारीको कार्यकालमा २०६५ सालमा सांसद् विकास कोषको ८ लाख रुपैयाँ रकम छुट्याएर कुरुलेतेनुपा, बूढीमोरङ–लाबरबोटे सडक उपभोक्ता समिति गठन गरी सर्भे शुरु गरिएको थियो ।
 
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला एक करोड ५० लाख रुपैयाँ रकमान्तर गरी बजेट छुट्याउन सफल भएपछि सडक डिभिजन कार्यालय धनकुटाले सो सडकको विस्तृत सर्भे गरी काम अगाडि बढाएको पूर्व सभासद् भण्डारीले जानकारी दिए । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारले सो सडक आयोजनालाई राष्ट्रिय योजनामा समावेश गरी राष्ट्रिय योजना अन्तर्गत कार्य अगाडि बढी रहेको भण्डारीको भनाइ छ ।
 
अहिले धनकुटाको मूलघाट लाबरबोटेदेखि ताप्लेजुङ हुँदै ओलाङ्चुङगोलासम्मको सडक निर्माण आयोजना ताप्लेजुङ– ओलाङ्चुङगोला सडक योजना ताप्लेजुङले हेर्दै आएको छ । यता मूलघाटदेखि चतरासम्मको सडक आयोजना भने मध्यपहाडी आयोजना पूर्वी खण्डले हेर्दै आएको सडक योजना ताप्लेजुङका प्रमुख नेपालीले बताए । तमोर करिडोर सडक मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ । तमोर करिडोर सडक ओलाङ्चुङ गोलादेखि प्रदेश नं.१ को प्रस्तावित स्थायी राजधानी धनकुटाको मूलघाटसम्म १ सय ८० किलोमिटर रहेको छ भने प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको रानी भन्सारसम्मको दूरी २ सय ८० किलोमिटर रहेको छ ।
 
अहिले मध्यपहाडी लोकमार्ग आयोजनाको पूर्वी खण्डले हेर्दै आएको सडकमध्ये १ सय ४० किलोमिटर सडकको चौडा निर्माण गरी ग्राभेल गर्ने कार्य भइरहेको सडक योजना प्रमुख नेपालीले बताए । सडकको बाँकी निर्माण कार्यको लागि पनि टेण्डर आह्वान गरी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ । तमोर करिडोर सडक–खण्ड अन्तर्गत साना–ठूला गरी करिब १० वटा पुल निर्माण हुने भएका छन् ।
 
तमोर करिडोरलाई शुरुमा धनकुटाको मूलघाटदेखि ओलाङ्चुङगोलासम्म जोड्ने लक्ष्यका साथ अगाडि बढाएको भए पनि अहिले त्यसलाई विस्तार गरेर मूलघाट लाबरबोटेबाट छिन्ताङको त्रिवेणी हुँदै अरुण नदीमा पुल निर्माण गरेर दूधकोशीको किनारै किनार उदयपुरको घुर्मी जोड्ने लक्ष्य राखिएको छ । त्यसो गर्न सकिएमा पूर्वी पहाडी ७ जिल्लालाई तमोर करिडोरले जोड्नेछ । सोही योजना अनुरूप नेता योगेश भट्टराईको संयोजकत्वमा समिति निर्माण गरी कार्य अगाडि बढाइएको जनाइएको छ । 
 
तमोर करिडोर सडक निर्माण अन्तर्गत अहिलेसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी कति रकम लाग्ने भन्ने अहिलेसम्म यकिन नभएको नेपालीले बताए । तमोर करिडोर सडक निर्माण सम्पन्न भएपछि चीन र भारत जोड्ने नेपालकै छोटो दूरीको सडक मार्ग बन्नेछ । तमोर करिडोर सडक निर्माण भएपछि पूर्वी पहाडी ४ जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई २० किलोमिटर दूरीको आसपासमा जोडिन्छ । त्यति मात्र हैन, काठमाडौं आवत–जावतको लागि पनि छोटो दूरी पर्दछ ।
 
भारतको जोगवनी र चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको रियु व्यापारिक केन्द्रलाई यस सडक मार्गले जोड्नेछ । दुई ठूला देशबीच नेपालको बाटो हुँदै प्रत्यक्ष व्यापार सेवा सञ्चालन भएको खण्डमा नेपालको आर्थिक वृद्धिदरमा ठूलो टेवा पु¥याउने धनकुटाका पूर्व सांसद् भण्डारीले बताएका छन् ।